हेटौंडाका मेयर–उपमेयर आचारसंहिता विपरीत चुनावी प्रचारमा

पालिका डायरी
१६ कार्तिक २०७९, १८:००

हेटौंडा / निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको धज्जी उडाउँदै हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयर खुलेआम सत्ता गठबन्धनको चुनावी प्रचारमा लागेका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले प्रचारप्रसार तथा मत माग्न नपाउने भनी आचारसंहिता जारी भएको भएपनि मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँले त्यसको वेवास्ता गर्दै आचारसंहिता उल्लङ्घन गरेका छन् । निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय तहका कार्यपालिकाका सदस्यहरु कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ ।

वुधबार (आज) हेटौंडा उपमहानगरपालिका वडा नं १५ मा आयोजित गठबन्धनको निर्वाचन प्रचार कार्यालय उद्घाटन कार्यक्रममा मेयर लामा र उपमेयर बानियाँ सहभागी मात्र भएनन् , भाषण नै गरेर गठबन्धनका उम्मेदवारका लागि मत माग्न थाले  । उपमहानगरका मेयर र उपमेयरले नै आचारसंहिता विपरीत गतिविधि गरेपछि चौतर्फी आलोचना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वास्ता नगरेका कारण जनप्रतिनिधिहरु दलको प्रचारमा सक्रिय हुन थालेका हुन् । निर्वाचन आयोगले गत असोज २६ गते स्थानीय तहका कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दा हुने कारवाहीबारे विज्ञप्ती जारी गरेको थियो । तर, हेटौंडामा मेयर र उपमेयरले नै आयोग र आचारसंहिताको धज्जी उडाउँदा पनि कारवाही प्रक्रिया अघि बढ्ला या नबढ्ला ? त्यो भने हेर्न बाँकी छ ।

नेपाल कलमबाट साभा

प्रतिक्रिया