ईन्द्र बानियाँलाई देखाए आफ्नै कार्यकर्ताले कालो झण्डा

पालिका डायरी
१३ कार्तिक २०७९

हेटौंडा / आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीको लागि नेताहरू गाउँ गाउँ पुग्ने क्रम बाक्लै चलिरहेको छ ।  उम्मेदवारहरूलाई आफ्नो नेता कार्यकर्ता तथा समर्थकहरूले चुनावी मैदानमा मत माग्नका लागि सहयोग गरिरहेका छन् ।

तर सबै नेता तथा कार्यकर्ताहरूलाई आफ्नै पार्टीको उम्मेदवार पनि मन परेको हुन्न भन्ने उदाहरण मकवानपुरमा भेटिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँलाई मत माग्न जाँदा कांग्रेसका क्रियाशिल सदस्यहरुले नै कालो झण्डा देखाएका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सदस्य तर्फका उम्मेदवार बानियाँलाई आफ्नै कार्यकर्ताहरुले कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका हुन् ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ मकरी स्थित भूमिनन्द चोकमा कांग्रेसका क्रियाशिल सदस्य एवम् सदस्यहरुले बानियाँलाई कालो झण्डा देखाएका हुन् । बानियाँसहित नेपाली कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती लगायतका नेताहरु मकरीस्थित एक आश्रमका कार्यक्रमका लागि गाडीमा जाँदै थिए । बानियाँको गाडी मकरी प्रवेश गर्न नपाउँदै कांग्रेसका क्रियाशिल सदस्य, सदस्य एवम् स्थानीय युवाहरुले कालो झण्डा प्रदर्शन गरेका हुन् ।

यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित बानियाँले आफ्नो कार्यकालमा त्यस क्षेत्रमा कुनैपनि विकास नगरेको भन्दै आक्रोशित युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

कांग्रेसका क्रियाशील सदस्यहरु विशाल उप्रेती, कृष्ण प्रसाद मैनाली, सुजन बर्तौला, राम बर्तौला, उपेन्द्र पाठक, पुरुषोत्तम पराजुली, रामकुमार खड्का, सदस्यहरु लक्ष्मण बर्तौला, अनिल बुर्लाकोटी, सूर्यबहादुर पराजुली लगायत ३० जना युवाहरुले कालो झण्डा प्रदर्शन गरेका थिए ।

 

विरोध प्रदर्शन देख्नासाथ बानियाँको गाडि तीब्र गतिमा अघि बढेको क्रियाशील सदस्य विशाल उप्रेतीले बताए ।  त्यस क्षेत्रलाई बानियाँले वेवास्ता गरेको उनको आरोप छ । “विगतमा पनि केही माखो मार्नुभएन फेरि हामीसँग नै भोट माग्न आउन उहाँलाई लाज हुनुपर्ने हो” उप्रेतीले भने । इकागजबाट ।

प्रतिक्रिया
kalo_jhanda_nTsl3Kpywt