प्रतिनिधि सभा निर्वाचन : मकवानपुरमा एमालेले जोगाउला विरासत ?

पालिका डायरी
१३ कार्तिक २०७९
प्रतिनिधि सभा निर्वाचन : मकवानपुरमा एमालेले जोगाउला विरासत ?

हेटौंडा / मकवानपुर नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित जिल्ला हो । स्थानीय तहको निर्वाचन देखि प्रदेश तथा संघीय निर्वाचनमा समेत आफ्नो वर्चश्व बनाउँदै आएको एमाले मकवानपुरको साख गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भत्किन पुग्यो । १० वटा स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले हात पार्यो भने भीमफेदी गाउँपालिकाको अध्यक्ष एमालेको पोल्टामा पर्यो । १० मध्ये २ गाउँपालिकामा मात्रै जित हाँसिल गरेको एमाले मकवानपुर आगामी मंसिर ४ को निर्वाचनमा संघ र प्रदेशमा आफ्नो विरासत स्थापीत राख्ने तयारीमा छ ।

दुईवटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रबाट नेकपा एमालेकै जित भएको थियो । क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा विजयी भएर संघीय सांसद बनेका थिए । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका हन् । अघिल्लो निर्वाचनमा दाहालले ४० हजार ६ सय ३१ मत पाएर विजयी भएका थिए भने थापाले ३४ हजार ६५८ मत ल्याएर पराजित हुनुपरेको थियो ।

यता, मकवानपुर–२ मा तत्कालिन एमालेबाट विरोध खतिवडा विजयी भएका थिए । २०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो । यसरी मकवानपुरको दुवै प्रतिनिधि सभा क्षेत्रमा एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती बनेको छ । पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका खतिवडा क्षेत्र २ मा निरन्तर ४ पटकसम्म आफ्नो जित सुनिश्चित गर्दै एमालेको साख जोगिरहेको थियो । तर यो पटकको निर्वाचनमा खतिवडालाई पार्टी परिवर्तनको झड्का र एमालेलाई नयाँ अनुहारको उम्मेदवारको चिन्ता थपिएको छ ।

चुनौती बन्दै गठबन्धन
मकवानपुरमा एमालेलाई आफ्नो विरासत जोगाउन सत्ता बाम लोकतान्त्रिक गठबन्धन चुनौती बन्ने पक्का छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी मिलेर बनेको गठबन्धनसँग चुनावी मैदानमा उत्रिएर दुईवटै क्षेत्रमा आफ्नो साख जोगाउनु एमालेको लागि चुनौती हो । गत स्थानीय तह निर्वाचनमा पनि सत्ता गठबन्धन दलसँगैको प्रतिस्र्पर्धाले धेरैवटा पालिकाहरुमा आफ्नो विरासत जोगाउन नसकेको एमाले मकवानपुर आगामी मंसिर ४ को निर्वाचनमा संघमा गठबन्धनलाई हराएर विरासत जोगाउन चाहान्छ ।

क्षेत्र नम्बर १ मा एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र क्षेत्र नम्बर २ का लागि नेकपा एमाले बागमती प्रदेशका उपमहासचिव समेत रहेका महेश कुमार बर्तौलाले जिते विरासत जोगिन्छ । तर पराजित भए एमालेको ३ दशक देखिको एकलौटी साख भत्कने निश्चित छ ।

कहिल्यै नजितेका थापा
जिल्लाको दुईवटा क्षेत्रमा एमालेले क्षेत्र नम्बर १ मा पटक÷पटक निर्वाचनमा होमिए पनि सफलता हात पार्न नसकेका उम्मेदवारलाई अघि सारेको छ । क्षेत्र नम्बर १ मा राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापा सूर्य चिन्ह लिएर एमालेकै समर्थनमा चुनावी मैदानमा छन् । थापालाई जित आफ्नो पोल्टामा पारेर एमालेको विरासत जोगाउन दबाव उत्तिकै छ ।

बहुदल स्थापनापछि प्रतिनिधिसभाको निर्वाचनमा अहिलेसम्म नेकपा एमाले हाबी हुँदै आएको क्षेत्र नम्बर १ मा ०५१ मा राप्रपा, ०६४ को पहिलो संविधानसभामा माओवादी, ०७० को दोस्रो संविधानसभामा नेपाली कांग्रेस विजयी भएका थिए भने पुनः ०७४ मा एमालेले नै जित हासिल गरेको थियो । अर्थात एमाले ०४८, ०५६ तथा ०७४ मा विजयी भएको थियो । एमालेबाट तीनैपटक कृष्णप्रसाद दाहाल विजयी भएका हुन् । दाहालले जोगाएका एमालेको शान स्थापीत राख्ने जिम्मा अब कमल थापाको काँधमा परेको छ । यद्यपी, थापा मकवानपुरमा सफल उम्मेदवार भने होइनन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा तत्कालिन राप्रपा अध्यक्ष समेत रहेका थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । दाहालले ५ हजार ९ सय ७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६ सय ३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६ सय ५८ मत मात्रै पाएका थिए । यो पटकको निर्वाचनमा भने जित्नकै लागि सूर्य चिन्हबाट चुनाव लड्न लागेको प्रतिक्रिया दिँदै थापा सूर्यमा मत माग्न व्यस्त छन् । क्षेत्र नम्बर १ मा हेभीवेट नेताहरुको भीडन्त हुँदै गरेको अवस्थामा थापाले यो पटक जित पक्का भएको अक्कलबाजी पूरा होला नहोला त्यो हेर्न भने बाँकी नै छ ।

नयाँ अनुहारका बर्तौला
क्षेत्र नम्बर २ मा नयाँ पुस्ता नेकपा एमाले बागमती प्रदेशका महासचिव महेश कुमार बर्तौला उम्मेदवार छन् । विद्यार्थी जीवन देखि नै राजनीतिमा लागेका बर्तौला एक भाग्यमानी नेता पनि हुन् । जसले आफ्नो पहिलो निर्वाचनको टिकट नै प्रतिनिधि सभा सांसदको पाए । बर्तौलालाई पनि जित्नैपर्ने दबाब छ । उनीमाथि एमालेको विरासत जोगाउनुपर्ने चुनौती छ । २०४८ पछिका निर्वाचनमा सो क्षेत्रमा एमालेले एक पटकमात्र हार व्यहोरेको छ । २०६४ मा जिल्लाका सबै क्षेत्रमा माओवादी केन्द्रले जित्दा सो क्षेत्रमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । त्यसपछिका सबै निर्वाचनमा एमालेले विरासत कायम राख्दै आएको छ ।

आफ्नो राजनीतिक गुरुविरुद्ध चुनाव लड्न मैदानमा होमिएका उनलाई एमाले कार्यकर्ता, युवा र विद्यार्थीहरुको मत आउने अपेक्षा गरिएको छ । त्यसैलाई नै उनले आफ्नो चुनाव जित्ने आधार मानेका छन् भने गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी लगाएतका मतदाताहरुको मत समेत आफू फ्रेस क्यान्डिडेट भएको कारण आफैलाई आउने अनुमान उनको छ ।

प्रतिक्रिया