एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताद्धारा पार्टी कार्यालयमा ताला

पालिका डायरी
२३ आश्विन २०७९

हेटौंडा / मनोनयन दर्ताको दिन आज नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा विवाद सृजना भएको छ । मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा रामेश्वर रानाको टिकट खोसेर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएकोमा एमालेमा असन्तुष्टि सृजना भएको हो । एमालेका असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयको ढोकामा ताला लगाएर बिरोध गरिरहेका छन् ।

थापा एमालेको चुनाब चिन्हबाट मंसिर ४ गतेको चुनाब लड्ने भएपछी राप्रपा नेताल मकवानपुरका नेता कार्यकर्ताहरु खुसी भएका छन् । तर, एमालेका नेता कार्यकर्ताहरुमा असन्तुष्टि छाएको छ ।

केन्द्रीय सदस्य रानाको टिकट खोसीएपछी मकवानपुर एमालेमा असन्तुष्टि देखिएको छ । सामाजिक सञ्जाल मार्फत नेता तथ कार्यकर्ताहरुले आफ्ना असन्तुष्टि पोखिरहेका बेला मनोनयन दर्ताको समयमा पार्टी कार्यालयमा ताला लगाइएको छ । थापालाई भोट हाल्नुको साँटो निर्वाचनमै उपस्थित नहुने उनीहरुले बताएका छन् ।


पुराना र निष्ठावान नेताको टिकट खोसीएको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो । स्थानीय तहको चुनाबमा कमल थापा लगायत राप्रपा नेपाल पार्टीका नेता कार्यकर्ताहरुले असहयोग गरेको एमालेका कार्यकर्ताहरु बताउँछन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका हुन् । एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो ।

त्यसोत मनोनयन दर्ताको समयमा आक्रोशित हुनु भन्दा सल्लाह गरेर अघि बढ्नुको विकल्प नरहेको एमालेका जिल्ला नेताहरु बताउँछन् । यद्यपी यि बिषयमा छलफल भैरहेको बताइएको छ ।

 

प्रतिक्रिया
Capture