स्वदेश फर्किएर अनुसन्धानमा सघाउने सन्दीपको भनाइ

पालिका डायरी
१५ आश्विन २०७९, १४:२३
सन्दीप बने टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलाे नेपाली बलर file photo

१७ वर्षीया एक नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले अर्को साता स्वदेश फर्किएर अनुसन्धानमा सहयोग गर्ने बताउनुभएको छ ।

शनिबार सामाजिक सञ्जालमा लामो ‘स्ट्याटस’ लेख्दै सन्दीपले असोज २० गते नेपाल फर्कने भन्दै आफू निर्दोष रहेकोले कानुनी लडाइँ लड्ने पनि बताउनुभएको छ । सन्दीपले अघिल्लो साता पनि सामाजिक सञ्चालनमा लामो स्ट्याटस लेख्दै आफू निर्दोष रहेको र आफूलाई फसाउन खोजिएको उल्लेख गर्नुभएको थियो ।

सन्दीपले यसअघि असोज ९ गते सामाजिक सञ्जालमार्फत आफूविरुद्ध जाहेरी र पक्राउ पुर्जी जारी भएको समाचारले आफू मानसिक रूपमा विक्षिप्त भएको उल्लेख गर्नुभएको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा अहिले सन्दीपमाथि अनुसन्धान भइरहेको पुलिसले जनाएको छ ।

भदौ २३ गते नै काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको थियो । सन्दीपविरुद्ध प्रहरीले हालै मात्र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको छ ।

प्रतिक्रिया