जसपा प्रवक्ता भन्छन्– एक्लै चुनाव लड्न सक्षम छौँ

पालिका डायरी
१५ आश्विन २०७९, १४:०७
जसपा प्रवक्ता भन्छन्– एक्लै चुनाव लड्न सक्षम छौँ

सत्ता गठबन्धनको लामो बैठक बसे पनि सिट बाँडफाँट टुंगोमा पुगेको छैन । बुधबार मध्यरातिसम्म गठबन्धनमा कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको थियो ।

तर, बिहीबार कांग्रेस र माओवादीले सिट संख्या बढाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बैठकबाट उठेर हिँडेका थिए ।

जसपाको अहिले केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । गठबन्धनमा कुरा नमिले एक्लै चुनावमा जाने तयारी जसपाको छ । ‘गठबन्धनमा टुंगिए टुंगियोस् नटुंगिए नटुंगियोस् । जसपा आफ्नै खुट्टामा उभिएको छ । एक्लै लड्न सक्छ,’ पार्टी प्रवक्ता मनिस सुमनले शिलापत्रसँग भने, ‘निर्वाचनको तयारी धुमधामले चलिरहेको छ । शुक्रबार संसदीय समितिको बैठक बसेको थियो ।’

गठबन्धनमा मधेस प्रदेशमा जसपाल ठूलो पार्टी बन्ने गरी सिट बाँडफाँटको सहमति भएको थियो । मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये जसपा १३, कांग्रेस १२, माओवादी ५ र एकीकृत समाजवादीलाई २ सिटको सहमति भए पनि अन्तिम रुपम दिन भने बाँकी छ ।

प्रतिक्रिया