डेङ्गीको सङ्क्रमण देशभर फैलियो, ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

पालिका डायरी
१२ आश्विन २०७९
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । मुस्ताङमा पनि एक जनामा डेङ्गीको सङ्क्रमण भेटिएसँगै ७७ वटै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म देशभरका २७ हजार ५ सय ६९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ५ सय ८९ जनामा डेङ्गी देखिएको छ । त्यस्तै प्रदेश एकमा ८ सय १५, मधेस प्रदेशमा ४ सय ५, गण्डकीमा ६ सय ५३, लुम्बिनीमा ३ हजार ५०, कर्णालीमा २ सय ३६ र सुदूरपश्चिममा ८ सय २१ जनामा सङ्क्रमण भएको छ ।

डेङ्गीको सङ्क्रमणका कारण अहिलेसम्म ३६ जनाले ज्यान गुमाएका इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ । डेङ्गी सङ्क्रमण भएर सिकिस्त अवस्थामा अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको पनि डाक्टरले बताएका छन् ।

सिकिस्त बिरामीको संख्या बढेसँगै कतिपय अस्पतालमा आईसीयू र भेन्टिलेटरमा राखेर पनि बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको छ । बिरामीको ज्यान जाने क्रम समेत बढेको भन्दै डाक्टरले डेङ्गी सङ्क्रमणबाट बच्नका लागि सतर्कता अपनाउन सुझाव दिएका छन् ।

डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ताभन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव छ । डेङ्गी फैलिएपछि अहिले देशभर नै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान थालिएको छ । कार्तिक मसान्तसम्म नै जोखिम रहने भएकाले यो अभियान निरन्तर चलाउनुपर्ने र पालिका तहमा पनि त्यसैअनुसारका काम गर्न भनिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि पूरा बाहुला भएको लुगा लगाउन आग्रह गर्दै आएको छ । मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको छ । मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि प्रदेश, जिल्ला र पालिकासँगको समन्वयमा डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया
dengue