हेटौंडामा नयाँ नोट साट्न बिहान सवेरैबाट लाइनमा

पालिका डायरी
११ आश्विन २०७९, २०:३३

हेटौंडा / दसैंका लागि नयाँ नोट साट्न हेटौंडामा बिहान ४ बजेबाट सर्वसाधारण लाइनमा बसेका छन् । हेटौंडा–४ स्थित बैंक रोडमा अवस्थित नेपाल बैंक लिमिटेडमा नोट साट्ने सर्वसाधारणको घुइँचो नै लागेको छ । बैंकले आजबाट नयाँ नोट साट्ने भएपछि उनीहरु लाइनमा बसेका हुन् । हेटौंडा–११, थानाभर्‍याङका देवप्रसाद तिमल्सिना सुरुमै नयाँ नोट साट्ने भनेर बिहानैबाट लाइनमा बसेको बताए । ७० वर्षीया तिमल्सिनाले प्रत्येक वर्ष यसैगरी नयाँ नोट साट्ने गरेको बताए ।

हेटौंडा–१७, हटियाकी २२ वर्षीया सिर्जना थापा बिहान ५ बजेबाटै नयाँ नोट साट्न लाइनमा बसेकी छन् । उनी एक सय रुपैयाँ भाडा तिरेर अटोमा नयाँ नोट साट्न बैंकमा आएकी हुन् । ‘चिया पनि नखाई आएको । म आउँदा त धेरै जना लाइनमा बसिसक्नु भएको रहेछ,’ उनले भनिन् । नयाँ नोट नभएसम्म चाडपर्व आएको महसुस नहुने उनले बताइन् । बैंकहरुले आजबाट नयाँ नोट साट्ने जनाएको छ ।

गत वर्षजस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न पाउने बैंकले जनाएको छ । यो ५ देखि १ सय रुपैयाँसम्मको एक–एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणलाई आजबाट नयाँ नोट सटही सुविधा दिने जनाएको छ । विशेषगरी दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग हुने गरेको छ । इकान्तिपुरबाट ।

प्रतिक्रिया