हेटौंडामा मात्रै २२ सय जनामा डेंङ्गी संक्रमण, सबैजसो अस्पतालका शय्या ज्वरोका बिरामीले भरिभराउ

पालिका डायरी
११ आश्विन २०७९, ११:५८
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

हेटौंडा / मकवानपुर जिल्लामा डेंगीले महामारीकै रूप लिएको छ । यो क्रम हरेक दिन बढ्दो छ । आइतबार मात्र मकवानपुरमा २ सय ३७ जना संक्रमित पहिचान भएका छन् । त्यसमध्ये २ सय ७ जना हेटौंडाका छन् । योसँगै मकवानपुरमा संक्रमितको संख्या २ हजार ४ सय १८ जना पुगेको छ । त्यसमध्ये हेटौंडाका मात्रै २ हजार १ सय ९६ जना छन् ।

स्वास्थ्य कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मण घिमिरेका अनुसार जिल्लामा डेंगी संक्रमणबाट एक बालकको मृत्यु भएको छ । हालसम्म हेटौंडासहित मकवानपुरगढी थाहा, मनहरी, बकैया, वाग्मती, भीमफेदी, राक्सिराङ र कैलाशमा पनि संक्रमण फैलिइसकेको छ । ‘इन्द्रसरोवर गाउँपालिकामा भने डेंगी विस्तार भइसकेको छैन,’ उनले भने । संक्रमितको संख्या अत्यधिक रहेकाले हेटौंडाका सरकारी एवं निजी अस्पताल बिरामीले भरिभराउ छन् ।

हेटौंडा–४ र ५ मा सबैभन्दा धेरै जनामा डेंगी संक्रमण पुष्टि भएको छ । संक्रमण विस्तारलाई रोक्न उपमहानगरले १९ वटै वडामा जनचेतना अभियान, लामखुट्टेको लार्भा नष्ट गर्ने, सरसफाइको कार्य गरिरहेको उपमहानगर प्रमुख मीना लामाले बताइन् । ‘यसका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी खटाइएको छ । डेंगु परीक्षण कीट पनि अस्पताललाई उपमहानगरले उपलब्ध गराएको छ,’ उनले भनिन् ।

प्रतिक्रिया