मकवानपुर प्रहरीले बनायो चाडपर्व सुरक्षा योजना, राजमार्गमा चल्ने बसमा हतियार सहितका प्रहरी

पालिका डायरी
१० आश्विन २०७९, २१:११

हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले चार्डपर्व लक्षित सुरक्षा योजना बनाएको छ । आज देखि लागूहुनेगरी चाडपर्व सुरक्षित योजना तयार पारिएको हो । चाडपर्व सुरु भए लगत्तै मकवानपुरमा प्रहरी परिचालनमा कडाई गरिने भएको छ । आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले चाडपर्वमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडाइ गरिने बताउनुभयो ।

मानिसको बढी चाप हुने स्थानमा नागरिक सहायता कक्षको स्थापना गरेर सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो । राजमार्गमा चल्ने बसहरुमा हतियार सहितको प्रहरी राखेर आम नागरिकलाई सुरक्षित तवरले गन्तव्यमा पठाइने बताउनुभयो । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी मकवानपुर प्रहरीले सुरक्षित यात्रामा सहयोग गर्नका लागि रात्रिबसमा हतियारसहित गस्ती गर्ने भएको छ । मकवानपुरको सीमामा पर्ने पश्चिममा लोथरदेखि दक्षिणमा चुरिया माई मन्दिरसम्ममा ६वटा प्रहरी टोलीले यात्रुवाहक बसमा रातिको समयमा हतियारसहित गस्ती गर्ने जनाएको छ । यस क्षेत्रमा चाडपर्वको समयमा लुटपाट हुनसक्ने आकलन गर्दै प्रहरीले यस्तो सुरक्षा योजना बनाएको हो ।

उहाँले भन्नुभयो–‘हामीले प्रहरीलाई विदा दिएका छैनौं र नाकामा समेत सुरक्षा निगरानी कडाई गरिने छ, उनले भने । पिकेट, क्युआरटी, सादा पोशाक, मोवाइल गस्ती, चेकिङ गर्ने, साइकलमा गस्तीलाई २४ घण्टे बनाई ५७६ जना प्रहरी परिचालन गरिएको छ ।’

जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत परिचलन हुने जनाइएको छ । आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि हामी रातदिन खटिने र सुरक्षित महसुश गरी चाडपर्व मनाउन आग्रह गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमले श्रावण देखी हाल सम्म जिल्ला प्रहरी कार्यालयबाट गरेका कामकारवाहीबारे जानकारी दिनुभयो

प्रतिक्रिया