चुरियामाई स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर, २५८ जनाले लिए सेवा

पालिका डायरी
८ आश्विन २०७९, १९:२५

हेटौंडा / हेटौंडा १५ मा रहेको चुरियामाई स्वास्थ्य चौकीले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । १५ नम्बर वडाको आयोजना, चुरियामाई स्वास्थ्य चौकीको समन्वय तथा मोडेन अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो । शिविरमा हेटौंडा १५ का २ सय ५८ मानिसहरुले स्वास्थ्य उपचारको सेवा लिएको स्वास्थ्य चौकी प्रमुख शेरबहादुर ब्लोनले जानकारी दिए । स्वास्थ्य शिविरबाट २ जनाको माइनर अपरेसन गरिएको तथा ९० जनाले निःशुल्क ल्याव सेवा लिएका थिए ।

स्वास्थ्य शिविरको आयोजनाले वडाबासीमा रहेको स्वास्थ्य अवस्था थाहा हुने र त्यसै अनुसार वडामा उपचारको दायरा बढाउने उदेश्यले शिविरको आयोजना गरिएको वडाध्यक्ष सुनिल मोक्तानले बताए । चालु आर्थिक बर्षमा वडाका विभिन्न स्थानहरुमा ४ पटक सम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य वडाले लिएको बताउँदै, आगामी दिनहरु अन्य स्थानमा शिविर सञ्चालन गरेर नागरिकहरुमा उपचारको पहुँच पुर्याउने वडाध्यक्ष मोक्तानको भनाइ छ ।


मोडेन अस्पताल हेटौंडाका डाक्टरहरु प्रमोद चौरासिया, बसन्त श्रेष्ठ, सञ्जित अन्सारी, बिनुमती श्रेष्ठ लगाएतको टोलीले उपचारमा सहजीकरण गरेका थिए । जसमा दुई जनाको माइनर अपरेशन समेत गरिएको थियो भने अन्य बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइएको स्वास्थ्य केन्द्र प्रमुख ब्लोनले जानकारी दिए ।

प्रतिक्रिया
IMG_5954