जसपाको राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग

पालिका डायरी
५ आश्विन २०७९

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार जनता समाजवादी पार्टी नेपाल (जसपा) मकवानपुर पुर्नगठन घोषणा कार्यक्रम सम्पन्न भयो । जसपा नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मञ्चभन्दा तल बसेका मानिसहरु अध्यक्ष यादवको भाषण ध्यानपूर्वक सुनिरहेका थिए ।

भाषण बुझ्ने ठूला उमेरका मानिसभन्दा धेरै साना बालबालिकाको उपस्थिति रहेका कारण पनि बोलिरहेका यादवको अनुहारमा एकटंकारले हेरिरहेका थिए, उनीहरु । राजनीतिक कार्यक्रममा बालबालिका प्रयोग नगर्न बालबालिकासँग सम्बन्धित संघसंस्थाले पटक÷पटक आग्रह गर्ने गरेका छन् । तर, राजनीतिक दलहरुको कार्यक्रममा स्टेच खचाखच देखाउन बालबालिकाहरुको विद्यालय छुटाएर भए पनि यातायात खर्च उपलब्ध गराउँदै भाषण सुन्न ल्याउने क्रम रोकिएको छैन ।

जसपा मकवानपुरले बुधबार दिउँसो पार्टी पुर्नगठन कार्यक्रममा बालबालिकाको प्रयोग गरेको पाइएको छ । शनिबारबाहेक बिदा नहुने विद्यालयका विद्यार्थीहरुलाई पढाइ नै छुटाएर कार्यक्रममा सहभागिता गराइएको पाइएको हो ।

राजनीतिक कार्यक्रममा बालबालिकाको प्रयोग गर्न हँुदैन भन्ने कुरालाई लत्याएर भाषणस्थल भर्नकै लागि बालबालिकाहरुको विद्यालय समेत छुटाएर कार्यक्रम स्थलमा ल्याएको दृश्यहरु प्रस्ट देख्न सकिन्थ्यो ।

स्टेजमा ठुला मान्छेहरुले भाषण गरिरहँदा स्टेजभन्दा तल कुर्सीमा बसेका बालबालिका टुलुटुलु हेरिहेका थिए । कारण नेताहरुको भाषण बुझेर होइन, ती भाषणको अर्थ नबुझेर ट्वाल्ल परिरहेको जस्तो सजिलै देख्न सकिन्थ्यो ।

त्यसो त, मकवानपुरको ग्रामीण भेग मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका तथा राक्सिराङ गाउँपालिकाबाट हेटौंडा बजार आएका यी बालबालिकाहरुको विद्यालय भने छुट्टी नभएको बताइएको छ ।

मनहरीबाट आएको बताउने १३ वर्षीया दिवस प्रजा आफ्नो आमासँग कार्यक्रम हेर्न आएको बताए । आफू कक्षा ६ मा पढ्ने गरेको बताउँदै उनले भने, ‘स्कुल त खुलेको छ । आज नगएर यहाँ आको । कार्यक्रम हेर्न मन लागेर आको हो ।’

त्यस्तै, मनहरीकै विद्यालयमा कक्षा १० मा पढ्ने बताउने वसन्ती प्रजा पनि आफ्नो कक्षा छुटाएर भए पनि कार्यक्रममा आएको बताइन् । ‘स्कुल त खुलेको थियो । त्यही पनि हेर्न आएको ममीहरुसँग,’ उनले भनिन् ।’ दिवस र कृष्णा त उदाहरण मात्रै हुन् । स्टेज तलका कुर्सीहरु बालबालिकाले नै आधा ओगटिएको थियो ।

मञ्चमा पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो भनाइ राख्दै गर्दा बालबालिकाहरु आफ्नो अभिभावकको हातमा हेर्दै तालीको नक्कल गरिरहेका थिए । बोलुञ्जेल हेरिरहने र बोलेर सकिएपछि ताली बजाउनुपर्छ भन्ने उनीहरुले तालिम नै लिएजस्तै गरिरहेका थिए ।

आफ्ना आमाबुवाहरु बजार आएको कारण बच्चाहरु पनि स्कुल नगई पछि लागेर आएको हुनसक्ने जसपा मकवानपुरका अध्यक्ष सोमबहादुर घलान बताउँछन् । उनले भने, ‘हामीले कार्यक्रम स्थल भर्न बालबालिकाको प्रयोग गरेका होइनौं । आमाबुवासँग बजार आउनका लागि पछि लागेर आएका हुन सक्छन् ।’

आफ्ना छोराछोरीलाई देशविदेशका महँगो विद्यालयमा पढाउने नेताहरूले जनताका छोराछोरीलाई भने राजनीतिक कार्यक्रममा समावेश गराएर उनीहरूको भविष्यमाथि खेलबाड गरिरहने प्रवृत्तिको अन्त्य भने हुन नसक्नु दुःखको विषय हो ।

प्रतिक्रिया