मकवानपुर प्रतिनिधिसभा–२ : एमालेबाट कस्ले पाउलान् टिकट ?

पालिका डायरी
३० भाद्र २०७९, १४:१६

हेटौंडा / सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ गते एकैदिन गर्दैछ । सोही अनुसार राजनीतिक दलहरु पनि आ–आफ्नो पार्टीबाट उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउने क्रम जारी छ । मकवानपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोल सेलाउन नपाउँदै संघीय र प्रदेशको निर्वाचनको माहोल सुरु भैसकेको छ । मकवानपुरमा चुनावी सरगर्मी दिनप्रतिदिन बढिरहेको छ । प्रदेश सभा निर्वाचनका लागि नाम सिफारिस गर्न नसकेका जिल्लाका राजनीनिक दलहरुले २ वटा क्षेत्र नम्बर रहेको प्रतिनिधि सभाको लागि नाम सिफारिसको कामलाई तीव्रता दिएको हो ।

मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले मकवानपुरका दुईवटै क्षेत्रीय कमिटीले ८ जनाको नाम शनिबार सिफारिस गरेको हो । प्रतिनिधि सभाको २ वटा क्षेत्र रहेको जिल्लामा सबैको ध्यान भने क्षेत्र नम्बर २ तिर नै केन्द्रित भैरहेको छ । किन भने क्षेत्र नम्बर २ मा ‘हेभिवेट’ नेताहरुको भिडन्त हुने निश्चित छ । त्यसोत, नेकपा एमालेमकवानपुरले क्षेत्र नम्बर १ का लागि ३ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका ३ जना मध्ये टिकट कस्को हातमा पर्ला भन्ने अहिले सबैको चासोको बिषय बनिरहकेको छ । युवालाई अघि बढाउने बताउँदै आएको एमाले मकवानपुरले नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेशकुमार बर्तौैला, एमाले नेता सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरलाई उम्मेदवारमा सिफारिस गरेको हो ।

कस्ले पाउलान् टिकट ?

महेश बर्तौला
गत स्थानीय निर्वाचनबाट पार्टी भित्र पनि युवालाई अवसर दिनुपर्छ भन्दै दबाब बढेकाले बर्तौलाको सम्भावना बढेको छ । मकवानपुर क्षेत्र नम्बर २ मा जित्ने बलियो सम्भावना रहेका व्यक्तिको रुपमा बर्तौलाको नाम चर्चामा छ । युवा नेताको खोजी भैरहेको अवस्थामा ‘फ्रेस क्यान्डिडेट’ ल्याउने योजना अनुसार बर्तौलाको नाम केही समय अघि देखि नै चर्चामै रहेको छ ।

मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फबाट युवा नेता महेश बर्तौला नै प्रतिनिधि सभाको निर्वाचनमा होमिने बलियो आधारहरू तयार भइरहेका छन् । युवालाई समेट्नुपर्छ भन्ने दबाब पार्टी भित्र चल्न थालेपछि बर्तौलाको नाम पार्टीले सिफारिस गरेको हो । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लागेका बर्तौला केन्द्रिय स्तरमा सजिलैसँग पहुँच राख्न सक्ने नेता हुन् । पार्टीले युवाहरूलाई समेट्नै पर्ने दबाब र गठबन्धनका उम्मेदवारलाई हराउनका लागि नयाँ र जोसिला अनुहार लिएर जनतामाझ जानुपर्ने एमाले कार्यकर्ताको मत छ ।

त्यसोत, पार्टीले तँपाईलाई टिकट दिनुपर्ने आधार के हुन् भन्ने हाम्रो प्रश्नमा बर्तौलाले भने, ‘पार्टीले मलाई पनि योग्य ठानेर उम्मेदवारको लागि सिफारिस गर्नु नै मेरो लागि ठुलो कुरा हो । अरु पनि उम्मेदवारहरु हुनुहुन्छ । उहाँहरुको पनि आ–आफ्नै आधारहरु होलान् । मेरो पनि छ । यो यो आधारले जसरी पनि टिकट मैले नै पाउनपर्छ भन्ने घमण्ड त होइन । तर पनि आम् जनता र पार्टीले चाहेको नयाँ अनुहार, युवा पुस्ता र मैले पार्टीमा रहँदा गरेको पारदर्शी कार्य मुल्यांकनलाई आधार मानेर पनि क्षेत्र नम्बर २ को टिकट मैले पाउनुपर्छ भन्ने मलाई लागेको छ ।’
पार्टीले परिचित व्यक्ति भन्दा पनि भिजन बोकेको र चुनावी मैदान उत्रदाँ मतदाताहरु खुसी हुने उम्मेदवारलाई टिकट थमाओस् भन्ने अपेक्षा रहेको बर्तौला बताउँछन् ।

सुवासचन्द्र ठकुरी
नेकपा एमाले मकवानपुरले प्रतिनिधि सभा २ मा सिफारिस गरेको अर्को चर्चामा रहेको नाम हो सुवासचन्द्र ठकुरी । अहिले चित्लाङ–थानकोट सडकखण्ड निर्माणले गर्दा झनै परिचित बनेका ठकुरीलाई उनको लोकप्रियताको आधारमा समेत टिकट दिनुपर्ने केही कार्यकर्ताले बताउँदै आएका छन् । त्यसोत, लामो समय राजनीतिक यात्रामा सफल मानिएका ठकुरी तीन पटकको निर्वाचनमा विजयी भएर नागरिकको सेवा गर्न सफल भैसकेका व्यक्ति हुन् ।

२०४९ सालको निर्वाचनमा तत्कालिन सिस्नेरी गाउँ विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका ठकुरीले ५ बर्षको अवधिमा गाविसको स्तरउन्नोतीका लागि ठुलो योगदान गरेको उनको दावी छ । पाँच बर्ष अध्यक्ष पद सम्हालिसकेका उनले अर्को स्थानीय तहको निर्वाचनमा पनि अध्यक्षको लागि टिकट पाए । २०५४ सालको निर्वाचनमा समेत सफलता हात पारेका थिए । त्यस्तै २०७० सालमा संविधान सभा सदस्यमा नेपाली कांग्रेसका जयराम लामिछाने र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई पराजित गर्दै झण्डै १२ हजार मतले विजयी भएका भएका थिए । गाविस अध्यक्ष हुँदा उनले शिक्षा, स्वास्थ्य, खानेपानी तथा शिक्षा जस्ता सामाजिक पूर्वाधारहरुको निर्माण गर्न सफल भएका र पार्टीमा पनि विभिन्न पदहरुमा रहेर उल्लेखनीय काम गरेको भन्दै यिनै आधारहरुमा आफूलाई पार्टीले टिकट दिनुपर्ने उनको भनाइ छ ।

बुद्धरत्न मानन्धर
मकवानपुर क्षेत्र नम्बर २ का लागि एमालेले सिफारिस गरेका अर्का व्यक्ति हुन् बुद्धरत्न मानन्धर । विगत लामो समयदेखि पार्टीमा लागेर हिडेका उनलाई यस अघिका निर्वाचनहरुमा समेत पार्टीले अगाडि बढाउने निर्णय गरेको थियो । तर शिक्षण पेशामा आवद्ध रहेका मानन्धर झण्डै ४० बर्ष देखि पार्टीका अन्य व्यक्तिहरुलाई सघाउँदै व्याक भैरहेका उनलाई अब भने प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको टिकटको अपेक्षा रहेको बताउँछन् । “लामो समय डोरमणी पौडेल सर देखि हिरण्यलाल श्रेष्ठ सम्मलाई सहयोग गर्दै आएँ ।” ‘अबको दिनमा भने नेतृत्व तहमा पुगेर नागरिकको सेवा गर्न चाहान्छु, मानन्धरले भने ।’

पार्टीलाई सहयोग गर्दै आइरहेको, शिक्षण पेशामा लाग्दै पनि उत्तरी क्षेत्रमा संगठनिक कार्यलाई निरन्तरता दिएको, शिक्षा, स्वास्थ्य जस्ता सामाजिक पूर्वाधारका लागि अहोरात्र खटिएको तथा निर्माण कार्य भैरहेको चित्लाङ–थानकोट सडक निर्माणका लागि योगदान दिएको आधार पनि पार्टीले आफूलाई टिकट दिनु पर्ने मानन्धर बताउँछन् ।

प्रतिक्रिया