चोलेन्द्रले मुछेका व्यक्तिलाई समितिले छलफलका लागि बोलायो

पालिका डायरी
२९ भाद्र २०७९, १३:३४
चोलेन्द्रले मुछेका व्यक्तिलाई समितिले छलफलका लागि बोलायो

संसदीय समितिमा बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुछेका व्यक्तिहरूसँग सोधपुछका लागि बिहीबार बाट बोलाउने महाभियोग छानविन तथा सिफारिस समितिले निर्णय गरेको छ ।

बुधबार विहानदेखि सिंहदबारमा बसेको बैठकमा बयानका क्रममा जबराले मुछेका व्यक्तिहरुलाई कहिले र कसरी बोलाउने भन्ने बारेमा छलफल भएको थियो ।

समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमकाअनुसार बिहीबार विहान साढे ८ बजेबाट जबराले बयानमा मुछेका पूर्व प्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, जबराले नाम लिएका बारका पदाधिकारी र कानून व्यवसायीलाई बोलाउने निर्णय समितिले गरेको छ ।

‘बिहीबार साढे ८ बजेबाट समय मिलाएर उहाँहरूलाई बोलाउने निर्णय समितिले गरेको छ’, गौतमले भने । महाभियोगको प्रतिरक्षा गर्ने क्रममा जबराले न्यायालयभित्रको विकृतिका सम्बन्धमा पूर्व प्रधानन्यायाधीश, न्यायाधीश, बहालवाला न्यायाधीश, बारका पूर्व र वर्तमान पदाधिकारी, कानून व्यवसायीसहित केही राजनीति नेतृत्वलाई समेत मुछेका थिए ।

 

प्रतिक्रिया