हेटौँडामा सडक मिचेर बनाइएको अवैध संचरना हटाउन ३५ दिने सूचना, अटेर गरे डोजर चलाइने

पालिका डायरी
१५ भाद्र २०७९, १६:००
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, हेटौंडालाई कति ?

हेटौँडा / हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको सडकपेटी मिचेर निर्माण भएका अवैध संरचना हटाउने निर्णय गरेको छ । वुधबार बसेको हेटौँडा उपमहानगरपालिका कार्यपालिकाको बैठकले ३५ दिने सूचना प्रकाशन गरेर अवैध संरचना हटाउने निर्णय गरेको हो । हेटौँडा उपमहानगरपालिकाले ३५ दिने सूचनालाई अटेर गरिए अवैध संरचनामा डोजर चलाउने बताइएको छ ।

उपमहानगरभित्र नक्सा पास नभएका,सडक तथा फुटपाथ मिचेर बनाएका अवैध संचरना हटाउनको लागि ३५ दिने सूचना निकालिने र सूचनाको अवधिमा संरचना नहटाइए डोजर चलाइने हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।

प्रवक्ता न्यौपानेले अव्यवस्थित संरचनाको मूल्याङ्कन र अनुगमनका लागि हेटौँडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको समेत बताउँदै केहि दिनमै ३५ दिने सूचना निकाल्ने बताए ।

काठमाडौं महानगरपालिकाले अवैध संरचनामा डोजर चलाएपछि हेटौँडामा पनि अवैध संरचनाबारे चासो बढेको थियो । हेटौँडामा पनि सडकपेटी मिचेर व्यवसाय गर्ने, घरको कम्पाउण्ड गर्ने कार्य देखिएको भन्दै उपमहानगरपालिकाले यस्तो कार्यविरुद्ध सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाले निर्माणधीन हेटौँडा बसपार्क क्षेत्रमा रहेको तरकारी बजारलाई हेटौँडाको चौकिटोलमा रहेको राप्ती करिडोरमा केही समयको लागि स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ । यसैगरी उपमहानगरपालिकाको पर्यटन समितिमा दुई जना विज्ञ राख्ने निर्णय गरेको छ ।

श्रेणीविहीन कर्मचारीको स्तर कायम गर्ने, वडा कार्यालय र शहरी स्वास्थ्य कार्यालयका लागि घरभाडा सम्झौता गर्ने, विभीन्न तहका कर्मचारीहरुको स्तरवृद्धि अनुमोदन गर्ने, नगर खेलकुद विकास समिति अध्यक्षको २०७७ सालको सेवा सुविधा लगायतका विषयमा निर्णय गरेको छ ।

प्रतिक्रिया