निर्वाचन नजिकिएसँगै कांग्रेस नेता बानियाँ रासन बोकेर जनताको दैलोमा

पालिका डायरी
९ भाद्र २०७९, २०:११

हेटौंडा / प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनको मिति घोषणा भएसँगै नेताहरु निर्वाचनको तयारीहरु सुरु गरिसकेका छन् । यसैको फलस्वरुप मकवानपुरका नेताहरु पनि जनताको घरदैलोमा रासनका सामान बोकेर घर/घर धाउने क्रम सुरु हुन थालेको हो । नागरिकको मतको अपेक्षामा जनताको घर-दैलोमा मकवानपुरका नेताहरु भेटिन थालेका छन् ।

निर्वाचनलाई केन्द्रित गर्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिकाका गरिब विपन्न चेपाङ, तामाङ तथा लोपोन्मुख बनकरिया समुदायका ५ सय घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् ।

मनहरी गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको नयाँबस्ती, बनकरिया, अजिंगरे, चिसापानी, रुपाचुरी, खरिवाङ, लोथर, खयरघारी, चौकीटोल, नयाँवस्ती, प्रतापपुर क्षेत्रका चेपाङ, वनकरिया तथा तामाङ समुदायका गरिब, विपन्न परिवारका ५ सय  घरपरिवारलाई प्रतिपरिवार एक बोरा चामल, दाल लगायतका खाद्य सामाग्री सहयोग गरेका हुन् ।

अरु समयमा अन्य राजनीतिक कार्यक्रममा व्यस्त देखिने नेता बानियाँ रासन बोकेर जनताको दैलोमा जानुलाई निर्वाचनको तयारीमा जुटेको भन्ने बुझ्न सकिन्छ ।

खाद्य सामग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दीनदुःखी, असहाय, गरिबको सेवामा सधैँ समर्पित रहने पार्टी रहेको समेत दाबी गरेका थिए । नेता बानियाँले चाडबाडको मुखमा गरिब र विपन्न जनतालाई केही राहत हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउँदै जनताको दुःख, पीडा र साथ सहयोगमा कांग्रेस सधैँ रहिरहने बताए ।

प्रतिक्रिया