मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित

पालिका डायरी
१८ श्रावण २०७९
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

सुनिता बिष्ट

 

हेटौंडा / मकवानपुरमा पछिल्लो समय डेंगू रोगको संक्रमण फैलदैं गएको छ । दुई हप्ताको अवधिमा दुई दर्जन भन्दा धेरैमा डेंगू देखिएको हो । चालु आर्थिक बर्षको साउन १ गतेदेखि १५ गते सम्मको बीचमा २८ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताए । मकवानपुरका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका मानिसमा यो रोग देखा परेको घिमिरेले बताए ।

उनले भने, ‘अरु स्थानीय तहमा खासै संक्रमित भेटिएको छैन । एक दुई स्थानीय तहका एक दुई जनामा मात्रै डेंगू भेटिएको छ । १५ दिनको अवधिमा यति धेरै डेंगू संक्रमित हुुनु भनेको सतर्कता अपनाउन जरुरी छ भन्ने पनि हो ।’ सूचना अधिकारी घिमिरेका अनुसार संक्रमितहरु हेटौंडाको वडा नम्बर ४ र ५ का रहेका छन् । उनीहरुको उपचार भैरहेको छ ।

त्यसो त उनका अनुसार सोही अवधिमा जिल्लामा १ जनामा कालाजार भएको छ भने हेटौंडाका ९ जनामा स्क्रबटाइफसको संक्रमण भएको छ । जिल्लाको मनहरी गाउँपालिकाका ६ नम्बर वडामा १ जनामा कालाजार संक्रमण भएको हो । आर्थिक बर्षको सुरुवातमा नै डेंगूका संक्रमितको संख्या बढ्न थालेपछि अघिल्लो आर्थिक बर्ष २०७८÷०७९ को तुलनामा चालू आथिृक बर्षमा बिरामी संख्या बढ्न सक्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । गत आर्थिक बर्षमा १ सय ९५ जनामा डेंगू संक्रमण भएको थियो । त्यस्तै स्क्रबटाइफसका बिरामी ५५ जना, मलेरियाका बिरामी ३० जना र कालाजारका बिरामी २ जना भेटिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी घिमिरेले बताए ।

लक्षण
सामान्यतया डेंगु भाइरसको संक्रमण भएका करीब ८० प्रतिशत मानिसहरुमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरु मात्र देखिन्छ । संक्रमित मध्ये ५ प्रतिशत मानिसहरुमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने ती मध्ये पनि निकै कम मानिसहरु यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरुमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरुमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

प्रायजसो बालबालिकामा डेंगुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरु देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरुमा विभिन्न जटिलताहरु देखा पर्ने जोखिम पनि तुलनात्मक रुपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरु मन्द खालका भएपनि उच्च ज्वरो पनि देखा पर्दछ । डेंगुको पहिचानको लागि मुख्य लक्षणहरु अचानक ज्वरो आउने टाउको दुख्ने साधारणा तथा आँखाको पछाडी दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेंगुका रोगीहरुको मांसपेसी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

सर्तकता
डेंगु सार्ने लामखुट्टेले पानीमा फुल पार्दछ । यसको पोथी लामखुट्टेले पानी जम्ने खाली ड्रम, छतमा राखिएका गमला, टिनका डब्बा, टायर, ट्यूवेल लगयतका स्थानमा फुल पार्दछ । अधिकाशं यी लामखुट्टेले दिउसो मात्र टोक्ने गर्दछन् । तसर्थ लामो बाहुला भएका कपडा लगाउने, दिउँसो सुत्दा पनि झुलभित्र मात्र सुत्ने, लामखुट्टे भगाउने धुप, मल्हम वा लिक्विडको प्रयोग गर्नु पर्दछ ।

कसरी बच्ने ?
डेंगु ज्वरोविरुद्ध अहिलेसम्म कुनै खोपको विकस नभएकोले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प हो । यसको टोकाईबाट बच्न घर, आगन, घर आसपासका पानी जम्ने भाडाहरु सफा गर्नु पर्दछ । साथै घरवरीपरी सकेसम्म पानि जम्न दिनुहुदैन, आसपासका ढल, पोखरी आदिमा नियमित सरसफाई गर्नु पर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया
dengue