बागमतीका १९ स्थानीय तहले मन्त्रालयमा अझै पेश गरेनन् बजेट

पालिका डायरी
१७ श्रावण २०७९, १४:०२
बागमतीका १९ स्थानीय तहले मन्त्रालयमा अझै पेश गरेनन् बजेट

सुनिता बिष्ट

 

हेटौंडा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बागमती प्रदेशका १ सय १९ स्थानीय तहमध्ये अझै १९ स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका छैनन् । गत असारमा बजेट पास गरेका स्थानीय तहले अनिवार्य रूपमा बजेट मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ । तर बजेट पास गरेको लामो समयसम्म पनि मन्त्रालयमा पेश नगरेको पाइएको हो । बजेट पेश भएका स्थानीय तहका बिवरण मन्त्रालयको वेवसाइटमा अपडेट हुने गर्छ । सोही बेवसाइटको आधारमा हेर्दा प्रदेशका १९ स्थानीय निकायले बजेट पेश गर्न अआलटाल गरेको पाइएको हो ।
हालसम्म ८४ प्रतिशत अर्थात सय स्थानीय तहले बजेट पेश गरेका छन् भने १६ प्रतिशत स्थानीय तहले अझै पेश नगरेको मन्त्रालयको तथ्यांक छ । बागमती प्रदेशका १३ जिल्लाहरुमध्ये केहि जिल्लाका सबै स्थानीय तहले पेश गरिसकेका छन् भने केहि जिल्लाका अधिकांश स्थानीय तहले अझै पेश नगरेका हुन् ।

मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर र रसुवा जिल्लाका सबै स्थानीय तहको वजेट मन्त्रालयमा पेश भएका छन् भने बाँकी ९ वटा जिल्लाहरुको केहि स्थानीय तहले आलटाल गरेको पाइएको छ । सिन्धुलीको ९ स्थानीय तहमध्ये ८ स्थानीय तहले बजेट पेश गरेका छन् भने हरिहरपुरगढी गाउँपालिकाले बजेट पेश गरेको छैन । त्यस्तै रामेछापको ८ स्थानीय निकाय मध्ये ६ वटाले बजेट पश गरिसकेका छन् भने दोरम्भा शैलुङ गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाले अझै पनि बजेट पेश नगरेको पाइएको छ ।

दोलखाको ८ स्थानीय तहमध्ये ७ ले बजेट पेश गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख छ । बजेट पेश नगर्ने स्थानीय तह बिगु गाउँपालिका रहेको छ । यस्तै सिन्धुपाल्चोक जिल्लामा १२ स्थानीय तह रहेका छन् । जसमध्ये हालसम्म ९ स्थानीय तहले बजेट पेश गरेका छन् भने बाँकी ३ पालिकाले बजेट पेश गर्न अलमल गरिरहेको पाइएको छ । जिल्लाको जुगल गाउँपालिका, बलेफी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले बजेट पेश नगरेका हुन् ।

धादिङको १३ स्थानीय तहमध्ये ३ स्थानीय तहले मन्त्रालयमा बजेट पेश गरेका छैनन् । जिल्लाको खनियाबास गाउँपालिका, थाँक्रे गाउँपालिका र सिद्धलेख गाउँपालिकाले भने अझै बजेट पेश नगरेको पाइएको छ । यस्तै नुवाकोट जिल्लामा १२ स्थानीय निकाय रहेकोमा बेलकोटगढी नगरपालिका र दुप्चेश्वर गाउँपालिकाले बजेट पेश गरेका छैनन् ।

त्यस्तै देशकै संघीय राजधानीको रुपमा रहेको काठमाण्डौं जिल्लामा ११ स्थानीय निकाय रहेका छन् । जसमध्ये हालसम्म १० वटा स्थानीय तहले आफूले ल्याएको बजेट मन्त्रालयमा पेश गरिसकेका छन् भने काठमाण्डौं महानगरपालिकाले भने हालसम्म वजेट पेश नगरेको पाइएको छ । यस्तै ललितपुर जिल्लाका ६ स्थानीय तहमध्ये हालसम्म ४ स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट पेश गरेका छन् । दुई स्थानीय तह कोन्जोसोम गाउँपालिका र गोदावरी नगरपालिकाले भने अझै बजेट पेश गर्न नसकेको पाइएको छ ।

यस्तै ७ स्थानीय निकाय रहेको चितवन जिल्लामा हालसम्म ४ स्थानीय निकायले मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट पेश गरेको पाइएको छ । बाँकी ३ स्थानीय निकाय माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छामनकामना गाउँपालिकाले भने अझै मन्त्रालयमा बजेट पेश नगरेको मन्त्रालयको वेबसाइटमा उल्लेख छ ।

प्रतिक्रिया