स्याङ्जा र बाँकेमा बढ्न थाले कोरोना सङ्क्रमित

पालिका डायरी
१२ श्रावण २०७९, १३:१८
विश्वका ११० देशमा कोरोना सङ्क्रमण दर फेरि बढ्दै

केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेको छ। जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो। अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताए।

जिल्लाका ११ पालिकामध्ये हाल पुतलीबजार, वालिङ र चापाकोट नगरपालिकामा सङ्क्रमणदर धेरै छ। सङ्क्रमण देखिएका बिरामीलाई आवश्यक औषधि तथा स्वास्थ्य परामर्शसहित होमआइसोलेसनमा बस्न र अप्ठ्यारो भएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउन अनुरोध गरिएको उनले बताए।

‘बिरामीलाई अहिले होमआइसोलेसनमा बस्न भनेका छौँ भने स्वास्थ्यमा कुनै असजिलो महसुस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न वा आउन भनिएको छ’, शर्माले भने, ‘स्वास्थ्य संस्थामा आवश्यक उपकरण अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर, एन्टिजेन किट, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ।’ सङ्क्रमणदर बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सक्रियता बढाएको छ।

पहिलाको जस्तै कोरोनाले दीर्घरोगी वा लामो समयदेखि औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकलाई समस्या पार्न सक्ने भएकाले उक्त वर्गका मानिसले उच्च सतर्कता अपनाउनुपर्ने उनले जोड दिए। ‘सकेसम्म भीडभाडमा नजान र जानैपर्ने अनिवार्य मास्कको प्रयोग गर्नुपर्छ’, उनले भने, ‘स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डको पालनामा जोड दिनुहोस्।’

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विगतमा सञ्चालनमा आएका आइसोलेसन केन्द्रलाई स्थानीय तह तथा सम्बन्धित सरोकारवालाको समन्वयमा तयारी अवस्थामा राखिने शर्माले बताए। कोभिड–१९ को परीक्षणको दायरालाई बढाउँदै लैजानका लागि आवश्यक ब्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यसंगरी बाँकेमा खुला सिमानाका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ। स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ५७ पुगेको छ। सीमाक्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षणमात्रै देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको वलीले बताए। भेरी अस्पताल नेपालगञ्जमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। अधिकांशले होमआइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन्। सोसँगै जिल्लामा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ। बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना सङ्क्रमित निको भइसकेका र ३५४ जनाको मृत्यु भएको थियो। पछिल्लो केही दिनदेखि कोरोना सङक्रमितको सङ्ख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया