थाहा नगरपालिका : कानून मिचेर खरिद गरेको २५ लाखको औषधि गायब !

पालिका डायरी
११ श्रावण २०७९

मकवानपुरको थाहा नगरपालिकाले सार्वजनिक खरिद नियमावली विपरित औषधिजन्य मालसामान खरिद गरेको पाइएको छ । नगरपालिकाले २५ लाख २६ हजार १७५ रुपैयाँ बराबरको औषधिजन्य सामाग्री सोझै खरिद गरेको पाइएको हो ।

खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) मा बीस लाख रुपैयाँसम्मको औषधिजन्य सामान मात्रै सोझै खरिद गर्न पाउने ब्यबस्था छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नगरपालिकाले खरिद नियमावली मिचेर औषधि खरिद गरेको जनाएको हो । ती औषधिहरूको विवरण समेत स्पष्ट नभएकाले यसमा ठूलो रकम घोटाला भएको आशंका गरिएको छ ।

खरिद गरिएको उक्त औषधि कुन कम्पनीबाट उत्पादन भएको हो र सो को मूल्य कति भन्ने समेत एकिन नभएको पाइएको छ । यस्तै उक्त औषधि डब्लुएचओ सर्टिफाइड हुनुपर्ने भएपनि औषधिको मिति, ब्याच नम्बर, समाप्त मिति समेत उल्लेख नगरेको पाइएको छ ।

आपूर्ति भएका औषधि स्टोरमा दाखिला हुनु अघि स्पेशिफिकेशन अनुसार भए नभएको समेत खुलाएको छैन जसले गर्दा औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन हुन् नसकेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले औषधि आपूर्ति, दाखिला तथा खर्चको विवरण अध्यावधिक हुने गरि अभिलेख राख्न, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भए नभएको एकिन गरी हस्तान्तरण तथा खरिब गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्न सुझाव दिएको छ ।

नगरपालिकाले यस अघि ‘डबल डिग्री होल्डर’ कर्मचारीलाई हाजिर समेत गर्न नदिई फिर्ता पठाएको थियो । व्यक्तिगत स्वार्थका कारण जुनियर कमर्चारीलाई शाखा प्रमुख बनाउँन सिनियर कर्मचारीलाई हाजिर समेत गर्न नदिई फिर्ता पठाएको हो । २०७६ माघ १७ गते बसेको नगरपरिषद बैठकले सिनियर कर्मचारीलाई शाखा प्रमुख बनाउनुको सट्टा जुनियरलाई प्रमुख बनाउने निर्णय गरेको थियो । नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर यस्तो निर्णय गरेपछि तहल्का मच्चिएको थियो  ।

हाल स्वास्थ्य शाखा प्रमुखका रुपमा कार्यारत मेघराज बलामी अहिले अधिकृत छैठौं तहका कर्मचारी हुन् ।

प्रतिक्रिया
Thaha-Nagarpalika