बागमतीमा अध्यक्षको मनलाग्दी निर्णय, एमाले भनेर १७ जना करार कर्मचारीको गरेनन म्याद थप

हेटौंडा / मकवानपुरको बागमती गाउँपालिकाले आफ्नो र आफु निकट कर्मचारीको मात्रै करार सम्झौता नविकरण गरेको छ ।
बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेकपा माओवादीको तर्फबाट अध्यक्ष पदमा विजयी भएका सर्केश घलानले पार्टी निकट कर्मचारीको मात्रै करार सम्झौता गरेका हुन् । गाउँपालिकाले असार ३१ गते शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकामा कार्यरत करार सम्झौताका कर्मचारीहरु मध्ये अधिकाशं कर्मचारीको करार सम्झौता नविकरण गरेको र केहीको नगरेको गरेको हो ।
करार सम्झौता नविकरण भएकोहरुमा माओवादी निकट कर्मचारी मात्रै रहेका छन् । करार सम्झौता नविकरण नभएका कर्मचारीहरुमा नेकपा एमाले र नेपाली कांग्रेस निकट रहेको बुझिएको छ । ७६ जना करारका कर्मचारी रहेकोमा ५९ जनाको मात्रै सम्झौता नविकरण गरिएको छ भने १७ जना कर्मचारीको नविकरण गरिएको छैन् ।
यसैबीच,गाउँपालिकाको कृषि शाखा प्रमुख अशोक ग्यालनसहित करार सम्झौता नभएका १७ जना कर्मचारीहरुले आज गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । उनिहरुले करार सम्झौता नविकरणको विषयमा ध्यानाकर्षण पत्र बुझाउँदै उक्त निर्णय पुनः विचार गर्दै समस्याको समाधान गर्नको लागि अनुरोध समेत गरेका छन् ।