एक पटक पहिरो प्रभावित क्षेत्रमा गएको १५ पटकको बिल कसरी बन्यो ?–पूर्व मुख्यमन्त्री पौडेल
हेटौंडा / वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणको क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताउनुभएको छ । आज पत्रकारसँग कुरा गर्दै पूर्व मुख्यमन्त्री पौडेलले हेलिकप्टर उद्धारटोलि लिएर जानै पर्ने भएकोले आफूहरु आफूहरु गएको बताउनुभयो ।
उहाँले पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोलि र पु¥याउन सकिने राहत सामाग्रीसहित आफू एक पटक मात्र हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ वटा उडान थपिएर आएको खबरमा सत्यता नरहेको दावी गर्नुभयो । ‘म मन्त्रीहरु र सेनाप्रहरी सहितको उद्धार टोलिसँग एकपटक सिन्धुपाल्चोक गएको हुँ, १५ वटा उडानको चर्चा कसरी आयो ?’ उहाँले भन्नुभयो । यदी त्यही एकपटक हेलिकप्टर प्रयोग भएको कुरालाई १५ पटक बढाएर बिल बनाउने काम भएको रहेछ भने त्यो गम्भीर र अक्षम्य अपराध भएकोले त्यसको स्वतन्त्र रुपमा छानबिन गरिनुपर्ने उहाँको भनाई छ ।
एक पटक गएको समयको १५ पटकको बिल मन्त्रालयमा कसरी बन्यो ? त्यसको तत्काल छानविन गर्न उहाँले माग गर्नुभयो । स्थानीय जनप्रतिनिधि भएको हिसाबले तत्कालीन सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल संघीय पूर्वमन्त्री शेरबहादुर तामाङ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुख सहितको टोलि पहिरो निरीक्षणका लागि १ पटक सिन्धुपाल्चोक गएको उहाँले बताउनुभयो ।
महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन अनुसार प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सिन्धुपाल्चोकको लिदीमा २०७७ साउन २६ गएको पहिरोबाट प्रभावित परिवारलाई एक लाखको राहत बाढ्दा २८ लाख बढी हवाई भाडा तिरेको उल्लेख छ ।
प्रतिवेदनमा पहिरोबाट प्रभावित परिवारलाई एक लाख ११ हजार मूल्यका दाल, चामल, स्वास्थ्य सामग्री वितरण गर्न मुख्यमन्त्रीसहित टोलिले १२ पटक सेनाको हेलिकप्टर र एक निजीसेवाको हेलिकेप्टर ३ पटक गरेर क्रमशः २५ लाख ६८ हजार र ३ लाख गरि २८ लाख ६८ हजार खर्च गरेको भन्दै यस्तो अनुत्पादक खर्चमा नियन्त्रण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जनपत्र बाट साभार