सीसीटीभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाइएको छ : जगन्नाथ खतिवडा

पालिका डायरी
३० असार २०७९, १४:०१
सीसीटीभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाइएको छ : जगन्नाथ खतिवडा

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सीसीटीभी क्यामेराका धेरै फुटेजहरू हराएर देशलाई कमजोर बनाएको बताउनुभएको छ ।

आज बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सीसीटीभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरणअन्तर्गत सीसीटीभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताउनुभयो । उहाँले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाई स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने धारणा राख्नुभयाे ।

उहाँले भन्नुभयो, ‘विज्ञान प्रविधिबाट हामी पछि परेका छौँ । चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लागि समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरू तय गर्नसक्ने नीतिहरू बनाऔँ । सीसीटीभी विज्ञानको एउटा प्रकरण, सीसीटीभीको फुटेज हराएको अर्को प्रकरण । जिन्दगीमा धेरै फुटेजहरू हमीले हराउँदै–हराउँदै गएका छौँ र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन । विज्ञानको अधिकतम उपयोग गरेर नै सम्भव छ ।’

उपमहासचिव खतिवडाले फरक प्रसङ्गमा नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना यही हो भन्ने सक्नुहुन्छ ? भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुष्पकमल दाहाल कमरेडलाई सोधौँ । नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना मेरो यहीँ हो भन्ने थाहा छ ? छैन । भारतले मिच्दै–मिच्दै यो छेउसम्म मेरो भन्छ, नेपालले यो ठाउँमा भन्छ । प्रतिवाद गर्न सक्दैन । सम्भवतः एक सय २३ वटा स्ट्रिप नक्सा तयार गरिएको छ । त्यही नक्सा हस्ताक्षर गरे नेपालका धेरै भू–भाग गुमाउँछौँ ।’

प्रतिक्रिया