बामदेवको बिजोग, दल दर्तै हुन नपाई निष्कासित भए

पालिका डायरी
१८ असार २०७९, २०:४९
वामदेवको आत्मालोचना : नेकपा फुट्नुमा मेरो पनि गल्ती छ, यही गठबन्धन कायम रहे पाँच वर्ष कांग्रेसको सरकार

काठमाडौँ /  बामदेव गौतमले चार दल मिलाएर घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी नै निष्कासित भएका छन्।

समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), र आम नेपाली पार्टीका नेताको बैठकले गौतमलाई ५ बुँदे आरोप लगाउँदै अभियानबाटै निष्कासन गर्ने निर्णय गरेको हो।

गौतमले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा भेला गरेर अभियानलाई दलको रूपमा अगाडि बढाउने निर्णय गरेका थिए। सोही अनुसार उनले पत्रकार सम्मेलन गरेर पार्टीको नाम सार्वजनिक गरेका थिए।

शनिवार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका नेताहरूको भेलाले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गर्ने निर्णय गरेको छ।

कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने सदस्य छन्।

सार्वजनिक भएको निर्णयमा गौतममाथि साङ्गठनिक अराजकता, निरङ्कुश, तानासाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको, अहङ्कारवादी सोच र एकलौटी निर्णय गरिएको,जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको आरोप लगाइएको छ।

यसै गरी एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरूलाई सिध्याउने गतिविधि गरिएको, सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जोड्ने योजना बमोजिम अभियान गठन गरिएकोमा गौतमले उद्देश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको आरोप लगाइएको छ।

प्रतिक्रिया