जाँदाजाँदै श्रेष्ठले भने– मन्त्री भएर पैसा कमाउनु थिएन, त्यस्तो लोभ पनि छैन
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन् । सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
श्रेष्ठले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । उनले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे ।
श्रेष्ठले आफू अहिले पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताए । आठ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरू सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको पनि बताए ।
‘नचाहिने हल्लाहरू फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरू भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरूको भनाइ के होभन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गसिकेपछि बजेटको माननीयहरूले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्ने मात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन,’ श्रेष्ठले भने, ‘मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर म आएको छु । मन्त्री पदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ लालच छैन । ८ महिना २१ दिन बसेर आफूले गरेका कामहरू सगौरव भन्न पाइयो यही ठूलो कुरा हो ।’
उनले पार्टीकै अर्का निवर्तमान मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताए । आलेले आइतबार पत्रकार सम्मेलन गर्दै आफूले गरेका काममा ९० अंक दिएका थिए ।