एनआरएनद्वारा राष्ट्रिय आविश्वकार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग हस्तान्तरण

गैरआवासीय नेपाली संघ (एनआरएन) ले राष्ट्रिय आविश्कार केन्द्रलाई १२ लाख ८७ हजार रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
बुधबार संघको सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई संघका कार्यकारी अध्यक्ष कुल आचार्यले १२ लाख ८७ हजार ५ सय असी रूपैयाँ, ४८ पैसाको चेक हस्तान्तण गरेका हुन्।
संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले विश्वभरका नेपालीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिरहेको जानकारी गराए। महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई संघले सहयोग गरेकोमा आभार प्रकट गरे।
विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपाल आयात हुँदा धेरै रकम विदेशमा नै जाने भएकोले त्यसको ५ प्रतिशत मात्र नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने पुनले बताए।
राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनु पर्ने जोड दिए। उनले गैरआवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिलाई अवसर दिनसक्ने बताए।
संघका कार्यकारी अध्यक्ष कुल आचार्यले विभिन्न अभियन्ताबाट प्रतिबद्धता गरिएको रकम मध्ये संघको खातामा जम्मा भएको रकम हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए।
त्यस्तै विदेशमा सिकेको ज्ञान, सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको ठहर गर्दै संघले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्रलाई हरदम सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रमा विभिन्न मुलुकबाट आका आइसिसि तथा एनसिसिका प्रतिनिधि, गैरआवासीय नेपालीलगायतको उपस्थिति थियो।