मकवानपुर गोल्डकप : घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश

पालिका डायरी
२७ जेष्ठ २०७९, २०:३५
मकवानपुर गोल्डकप ः घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश

 

हेटौंडा / घरेलु टोली बिजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै बिजय युथ फाइनलमा प्रवेश गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर दोश्रो हाफको ८ औं मिनेटमा बिजय युथका विदेशी खेलाडी पेपेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन् । अमिर श्रेष्ठको कर्नर पासमा पेपेले हेड गोल गरेका हुन् ।

खेलमा थप गोल हुन नसक्दा पेपेको गोल नै निर्णायक बन्यो । पेपे नै प्रतियोगिताको म्यान अफ दि म्याच घोषित भए । खेललाई बराबरी ल्याउने पुलिसको प्रयासलाई बिजय युथका गोलकिपर अशोक बरालले बिफल पारेका थिए । क्वाटरफाइनलमा नव जनजागृती क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय युथले अन्तिम चारमा स्थान बनाएको थियो भने पुलिसले चर्च ब्वाइजलाई ४–० ले हराउँदै सेमिफाइलनमा स्थान सुरक्षित गरेको थियो ।

उपाधिको लागि बिजय युथले शनिबार हुने दोश्रो सेमिफाइनल अन्तर्गत त्रिभुवन आर्मी र एफसी क्यामरुन बिचको बिजेता संग खेल्नेछ । मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।

प्रतिक्रिया
286711512_179269077855586_6957638083568504959_n