थाहा नगर कार्यपालिकाको पहिलो बैठक सम्पन्न, उत्कृष्ट योजना सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने

पालिका डायरी
१७ जेष्ठ २०७९, २०:०७

राज कुमार के.सी.

थाहा / बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित थाहा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक मंगलबार सम्पन्न भएको छ ।

नव निर्वाचित नगर प्रमुख बिष्णु बहादुर बिष्टको अध्यक्षतामा बसेको बैठकले नगरको बिषयगत समितिको गठन संगै असार १० गते ११ औं नगर सभा गर्ने निर्णय गरेको छ । नगर सभाको लागि वडागत योजना छनौटका लागि जेठ २७ गते वडा भेला गर्ने समेत निर्णय गरेको कार्यपालिका सदस्य तथा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताउनुभयो । साथै बैठकले वडागत रुपमा बजेट सिलिङ समेत निर्धारण गरेको छ ।

बैठकले वडा नम्बर १,२,३,६,९,१० मा १ करोड, ४ र ५ मा १ करोड १० लाख, ७,८,११,१२ मा १ करोड २० लाख रुपैयाँको बजेट सिलिङ निर्धारण गरेको छ ।

नगर कार्यपालिका कार्यालयमा बसेको बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको छ ।

कार्यपालिका बैठकले आ.ब. २०७९/०८० मा संचालन हुने योजना मध्ये चाँडो र प्रभावकारी ढंगले सम्पन्न गर्ने वडालाई १५ लाख रुपैयाँ थप रकम पुर्वाधार बिकासमा खर्च गर्ने गरी पुरष्कृत गर्ने निर्णय गरेको नगरप्रमुख बिष्टले बताउनुभयो ।

प्रमुख बिष्टले थाहा नगरपालिकाको सफल कार्यकाल पुरागरि निवर्तमान भएका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सहित असल अभ्यासको अनुसरण गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया