अर्थमन्त्रीलाई भट्टराईकाे प्रश्न : कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यकाे बजेट नबढाएकाे हाे ?

पालिका डायरी
१७ जेष्ठ २०७९, १४:३२
अर्थमन्त्रीलाई भट्टराईकाे प्रश्न : कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यकाे बजेट नबढाएकाे हाे ? file photo

काठमाण्डाै / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट नबढाएकाे हो ? भनी अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्नुभएको छ । सचिव भट्टराईले सरकारले गएकाे वर्षको भन्दा पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कटौती गरेको उल्लेख गर्दै कमिसन नआउने भएर नै त्यसो गरिएको हो भनी गम्भीर आशङ्का व्यक्त गर्नुभएको हो ।

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा सरकारको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्री शर्माले अघिल्लो वर्षको बजेटबारे अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरूले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कम ल्याउने गरेको भिडियो टिकटकमा भाइरल भएको भन्दै आफूले पनि त्यसै गरेको हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँ भन्नुभयो, ‘यो बजेटको प्राथमिकता, यो बजेटको गन्तव्य कता हो भन्ने कुरा थाहा छैन । यो बजेट हेर्दा कतै–कतै हेर्दा सत्तरी, असी दशकतिरको माओत्सेतुङको गन्ध आउँछ । कतै–कतै यो बजेट हेर्दा अलिअलि मार्क्सकाे पनि गन्ध आउँछ । यो बजेट वास्तवमा के हो ? अहिले टिकटकमा अर्थमन्त्रीज्यूको एउटा भिडियो आइरहेको छ । त्याे भिडियाेमा शिक्षाको बजेट किन बढाइएन, स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनुभएको छ । उहाँले त्याे भिडियाेमा कमिसन नआउने भएर अर्थमन्त्रीहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढाउँदैनन् भन्नुभएकाे छ । आज उहाँले नै अर्थमन्त्रीको रूपमा यहाँ बजेट प्रस्तुत गर्नुभएको छ । शिक्षामा बजेट १० प्रतिशतको हाराहारी पनि पुगेको छैन । स्वास्थ्यको स्थिति हेर्ने हो भने गएको वर्षभन्दा बजेट घटाइएको छ । अब म अर्थमन्त्रीजीलाई नै सोध्न चाहन्छु– के साँच्चै कमिसन नआउने भएर शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट कटौती गर्नु भएको हो त ?’

सचिव भट्टराईले बजेट चौबाटोमा उभिएकाले यसले गन्तव्य पक्रेर अघि बढ्ने अवस्था नरहेको पनि उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया