प्रदेश युवा नीतिको मस्यौदामाथि छलफल

पालिका डायरी
१५ जेष्ठ २०७९, २१:०२

हेटौंडा / युवा परिषद बागमती प्रदेशले प्रदेश युवा नीतिको मस्यौदामाथि छलफल गरेको छ । हेटौंडामा आज भएको कार्यक्रममा सरोकारवालाहरुले प्रदेशभित्र रहेका युवाहरुहरुको क्षमता विकास गर्दै रोजगारी र उत्पादनमा जोड्ने नीति आवश्यक रहेको सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले मस्यौदामा छलफल सुरु भएको बताउँदै सबैको सुझाव समेटेर नीति निर्माण गरिने बताए । नयाँ आर्थिक वर्षको बजेटमा पनि युवाहरुलाई सीपसँग जोड्दै उत्पादन र रोजगारीमा जोड्ने कुरालाई प्राथमिकता दिएको उनले बताए । कार्यक्रममा प्रदेश युवा नीतिका मस्यौदा निर्माणकर्ता प्रकाश बिकल्पले नीतिको उदेश्य, लक्ष्य र त्यसभित्र समेटिएको विषयबारे प्रकाश पारेका थिए ।

पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले शब्दको चाङ भन्दा पनि नीतिमा बुँदागत कुराहरु समेटे अघि बढ्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय युवा परिषदका निवर्तमान उपाध्यक्ष माधव ढुङ्गेल, प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने लगायत सरोकारवाला क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्राप्त सुझावहरुको आधारमा नीति थप परिमार्जन गर्दै पारित गरिने प्रदेश युवा परिषद बागमतीका उपाध्यक्ष सन्तोष चौँलागाईले बताए ।

प्रतिक्रिया