राजनीतिक दलमा रहेका शिक्षकलाई राजीनामा दिन निर्देशन

पालिका डायरी
११ जेष्ठ २०७९, १४:२६
राजनीतिक दलमा रहेका शिक्षकलाई राजीनामा दिन निर्देशन

बर्दियाको राजापुर नगरपालिकाले राजनीतिक दलको कार्यकारिणी पदमा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ।

नगर कार्यपालिकाको जेठ १० गतेको बैठकले नगरभित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई राजीनामा दिन लगाई एक साताभित्र विवरण पेश गर्न निर्देशन दिने निर्णय गरेको हो। नगरपालिकाले राजनीतिक दलको कार्यकारिणी पदमा रही कानून विपरीत काम गर्ने शिक्षक तथा कर्मचारीहरूको विवरण नगरपालिकामा पेश गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा शिक्षक वा कर्मचरी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ।

प्रतिक्रिया