पालुङ क्याम्पसको विकासका लागि सबैपक्षको सहयोग आवश्यक छ : नगर प्रमुख बिष्ट

पालिका डायरी
११ जेष्ठ २०७९, १२:३०
पालुङ क्याम्पसको विकासका लागि सबैपक्षको सहयोग आवश्यक छ : नगर प्रमुख बिष्ट

राज कुमार के.सी.

थाहा नगर / मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पसले थाहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

बुधबार बिहान आयोजना गरिएको कार्यक्रममा क्याम्पसको बिकासका लागि सबैपक्षको सहयोगको आवश्यक्ता रहेको थाहा नगरप्रमुख तथा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु बहादुर बिष्टले बताउनुभयो । बिष्टले पालुङ्ग क्याम्पसको मुल समस्यानै आर्थिक भएकोले स्थानीय सरकारबाट प्रयास हुँदाहँुदै पनि प्रदेश र संघबाट प्रष्टरुपमा सम्बोधन नभएकोले क्याम्पस आर्थिक रुपमा सबल हुन नसकेको बताउनुभयो ।

क्याम्पसबाट संख्यात्मक र गुणात्मक दुवै किसिमको जनशक्ति उत्पादन गर्नु ऐलेका चुनौती रहेको भन्दै क्याम्पसको बिकासका लागि सबै सरोकारवालाहरु एकजुट भएर अगाडि बढ्नुपर्ने र त्यसमा नगरप्रमुखको हैसियतमा पनि सहयोग भईरहने नगर प्रमुख बिष्टले बताउनुभयो । त्यसैगरी थाहा नगर उपप्रमुख भरत गोपालीले थाहा नगरको समग्र शैक्षिक विकासमा आफू डटेर लाग्ने बताउदै पालुङ्ग क्याम्पसलाई थाहा नगरको शैक्षिक केन्द्र बनाउन नगरपालिका लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, क्याम्पस प्रमुख रामहरि अधिकारी, अभिभावक निरन्जन अधिकारी, क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष बिमलकुमार ढकाल, सदस्य सुरेन्द्रमान प्रधान, प्राध्यापक हरिकृष्ण कार्की लगायतले क्याम्पसको शैक्षिक विकासका लागि थाहा नगरको ध्यानाकर्षण गर्दै, उच्च शिक्षाको लागि नगरलाई शैक्षिक गन्तब्यको रुपमा विकास गर्न नगरपालिकाले बिशेष नीति बनाई शिक्षा, स्वास्थ, पर्यटनको नारालाई सार्थक बनाउन आग्रह गर्दै शुभकामना ब्यक्त गर्नुभयो ।

क्याम्पस संचालक समिति उपाध्यक्ष श्यामभक्त श्रेष्ठको अध्यक्षतामा भएको स्वागत, सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा नव निर्वाचित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, क्याम्पस संचालक समितिका कोषाध्यक्ष बिमल कुमार ढकाल, सुरेन्द्रमान प्रधान, बिमलकुमार बिष्ट, सुदर्शन कार्की, रामशरण थापा, कार्यपालिका सदस्यहरु, क्याम्पस प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । थाहा नगरप्रमुखमा बिजयी बिष्णु बहादुर बिष्ट क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष र उपप्रमुख भरत गोपाली कोषाध्यक्ष समेत रहेको क्याम्पस प्रमुख रामहरि अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया