अझै १२ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

पालिका डायरी
१० जेष्ठ २०७९, १५:००
भरतपुर महानगरमा कडा टक्कर : थोरै मतले रेणु अगाडि

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।

६ मध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ। विराटनगर, भरतपुर र वीरगंज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ। विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगंज महानगरमा राजेशमान सिंह विजयी भइसकेका छन्।

काठमाडौँ, पोखरा र ललितपुर महानगर, तुलसीपुर उपमहानगरपालिका, उदयपुरको कटारी र त्रियुगा नगरपालिका, रौतहटको गढीमाई, गरुडा र फतुवा विजयपुर नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका, बाजुराको बूढीगंगा गाउँपालिकालगायत केही नगरपालिकामा मतगणना जारी रहेको आयोगले जनाएको छ।

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, पोखरामा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)का टिकाराम खड्का अगाडि छन्।

नतिजा सार्वजनिक भएकामध्ये ३२२ पालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसले १८८ गाउँपालिको अध्यक्ष र १३४ नगरको प्रमुखमा जित हासिल गरेको छ। एमालेले १२३ गाउँपालिका अध्यक्ष र ७९ नगरप्रमुख गरि २०२ पालिका प्रमुख जितेको छ।

यसैगरि नेकपा (माओवादी केन्द्र) ले २५ नगरप्रमुख र ९६ गाउँपालिका अध्यक्षसहित १२१ पालिकामा विजयी भएको छ। एकीकृत समाजवादीले ११ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ३० नगरमा विजयी भएको आयोगले जनाएको छ। जनता समाजवादी पार्टीले २१ नगरप्रमुख तथा साना दल र स्वन्तन्त्र उम्मेदवारले ३२ गाउँपालिका अध्यक्ष जितेका छन्।

कांग्रेसले १०६ उपप्रमुख र १९० उपाध्यक्ष, एमालेले १०६ उपप्रमुख र १२६ उपाध्यक्ष, माओवादीले ३३ उपप्रमुख र ९५ उपाध्यक्ष, जसपाले उपप्रमुख ११ र १९ उपाध्यक्ष तथा अन्य दलले २३ उपप्रमुख र ३० उपाध्यक्ष जितेका छन्।

कांग्रेस सबैभन्दा बढी दुई हजार ६३२ वडामा विजयी भएको छ। एमाले दुई हजार ११२, माओवादी एक हजार ४९, जसपा २९१ र अन्य दल तथा स्वतन्त्र ५८५ वडामा विजयी भएका आयोगको तथ्यांक छ।

प्रतिक्रिया