हेटौंडामा एमालेको तीन दशकको विरासत भत्कियो, ९ वडामा मात्रै जीत

पालिका डायरी
७ जेष्ठ २०७९, १६:१०
हेटौंडामा एमालेको तीन दशकको विरासत भत्कियो, ९ वडामा मात्रै जीत

हेटौंडा / तीन दशकदेखि एमालेको लालकिल्लाका रुपमा रहेको हेटौंडा उपमहानगरपालिका भत्किएको छ । नेकपा एमालेबाट विभाजित भई गठित एकीकृत समाजवादीकी मीनाकुमारी लामाले कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट जीत हासिल गरेपछि एमालेको विरासत भत्किएका छन् । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीकी लामा र उपमेयरमा कांग्रेसका राजेश बाँनियालाई उम्मेदवार बनाएको थियो । मेयर र उपमेयरमा नै गठबन्धनबाट जीत भएपछि हेटौंडामा एमाले केही वडाहरुमा मात्रै आउन सक्यो ।
बहुदल स्थापनापछिको पहिलो स्थानीय निकाय निर्वाचन २०४९ र दोश्रो निर्वाचन २०५४ मा एमालेले मेयर तथा उपमेयर सहित अधिकांश वडामा जित हाँसिल गरेको थियो । संघिय लोकतन्त्र नेपालको स्थापनापछि भएको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा पनि एमालेले एकलौटी रुपमा हेटौँडाको मेयर–उपमेयर सहित १२ वटा वडाध्यक्षमा जित हाँसिल गरेको थियो । तर २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले मेयर–उपमेयर सहित पहिले जितेको ३ वटा वडाको संख्या पनि गुमायो र जम्मा ९ वडामा मात्र सिमित हुन परेको छ ।
हेटौंडाको अन्तिम मतपरिणाम अनुसार लामा विजयी हुँदै लामाले हेटौंडा नगरको पहिलो महिला मेयरको इतिहास रच्न सफल भएकी छिन् । उनले नेकपा एमालेका अनन्त पौडेललाई पराजित गरेकी छिन् । विजयी लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत ल्याए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मत ल्याए ।
उपमेयरमा नेपाली कांग्रेसका राजेश बानीयाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने । बानिँयाका निकट्तम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ६ मत ल्याउँदा तेश्रो स्थानकी राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ४ सय ८६ मत ल्याईन । मतगणनाको शुरूवाति अवस्थामा पहिलो, दोस्रो भएर चर्चामा मेयरका उम्मेदवार राप्रपाका दिपकबहादुर सिंह अन्तिम परिणाममा तेस्रो रहे भने उपप्रमुखमा राप्रपाकी ईन्दिरा डल्लाकोटी पनि तेस्रोमै रहिन् ।
१९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा तथा नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रले एक÷एक वडामा जितेको छ । हेटौंडामा नेपाली कांग्रेसबाट हेटौंडा–१ मा सविन न्यौपाने, हेटौंडा–२ मा विष्णुगोपाल महर्जन, हेटौंडा–३ मा ढलक थापा, हेटौंडा–६ मा विष्णुप्रसाद दाहाल, हेटौंडा–७ मा दामोदर गौतम, हेटौंडा–८ मा राम थापा, हेटौंडा–१६ मा रामकृष्ण कोइराला र हेटौंडा–१७ मा उद्धव सत्यालले जितेका छन् ।
नेकपा एमालेबाट हेटौंडा–४ मा नवीन सिग्देल, हेटौंडा–५ मा सुशील घिमिरे, हेटौंडा–१० मा फुर्वादोर्जे लामा, हेटौंडा–११ मा जुना दंगाल, हेटौंडा–१३ मा पेम्बा लामा, हेटौंडा–१४ मा दिपक खड्का, हेटौंडा–१५ मा सुनिल मोक्तान, हेटौंडा–१८ मा अनिल बानियाँ र हेटौंडा–१९ मा नरनाथ सुवेदीले जितेका छन् ।
नेकपा माओवादी केन्द्रबाट हेटौंडा–१२ मा ललित घलान र हेटौंडा–९ मा नेकपा एकीकृत समाजवादीका सुकराम केसीले जितेका छन् ।

प्रतिक्रिया
minalama_हेटौंडामा एमालेको तीन दशकको विरासत भत्कियो, ९ वडामा मात्रै जीत