स्थानीय तह निर्वाचनको तयारी पूरा, आचारसंहिता उल्लंघनमा ६६ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण माग

पालिका डायरी
२९ बैशाख २०७९, २१:०४

हेटौंडा / निर्वाचन आयोग नेपालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाचनका लागि तयारी पूरा गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि शुरु हुने व्यवस्थाबमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए  ।

त्यस्तै, आयोगले आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए । उनले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधको बताए । ‘आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको छ,’ उनले भने ।

वैशाख ३० गते सम्पन्न हुने निर्वाचनका दिन वर्षाका कारणले मतगणना र मतदान कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेत सुरक्षा गर्न आयोगले सरकारका सम्वद्ध निकायहरुलाई आयोगले निर्देशन दिएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले मतदानका दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन नेपाल सरकार गृहमन्त्रालयलाई लिखित पठाएको आयोगले जनाएको छ ।

सहप्रवक्ता अर्यालका अनुसार निर्वाचनका कार्यमा खलल नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बौक्ने सवारी, दमबल, दूर सञ्चार तथा केवल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी, फोहारमैलाका साधन, तरकारी, विद्युतका साधन र कूटनीतिक सवारी साधनको हकमा सवारी अनुमति पत्र दिनुपर्ने छैन ।

आयोगले नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीहरुका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने, सवारीसाधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने, प्रेस पास नभएका सञ्चारकर्मीहरुको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने निर्देशन दिएको छ ।

सहप्रवक्ता अर्यालले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन काार्यलय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षाको काम वैशाख ३० गते नगर्न अनुरोध गरेको बताए ।

प्रतिक्रिया