मौन अवधिमा मनहरीमा गठबन्धनको आतंक, मतदाता प्रभावित पार्न पुगेका मन्त्री मोक्तान र बानियाँ लखेटिए

पालिका डायरी
२९ बैशाख २०७९, १६:१३

हेटौंडा / मौन अवधि जारी रहँदा वुधबार (हिजो) रातिदेखि पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका नेताहरुले आतंक मच्चाएका छन् । भोलि हुने स्थानीय तह निर्वाचनमा मतदातालाई प्रभावित गर्ने गरी गठबन्धनका नेता, कार्यकर्ता र उम्मेदवार घुमफिर गरिरहेका छन् ।

विहीबार (आज) दिउँसो बागमती प्रदेशकी समाजिक विकास मन्त्री कुमारी मोक्तान, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँसहित गठबन्धनका उम्मेदवारहरु मतदातालाई प्रभावित पार्न मनहरी–९ रजैयास्थित अग्निहोत्राश्रममा जम्मा भएका थिए । मन्त्री मोक्तानको सरकारी नम्बर प्लेटको सहित एक दर्जनभन्दा गाडीमा आश्रम पुगेको गठबन्धनको टोलीलाई स्थानीयहरुले लखेटेका छन् । मतदाताहरुलाई जम्मा गरेर आर्थिक चलखेल गर्न खोजिएको शंकामा स्थानीय युवाहरुले मन्त्री मोक्तान, बानियाँसहित गठबन्धनका उम्मेदवारहरुलाई त्यहाँबाट लखेटेका छन् ।

गठबन्धनको बैठक भन्दै एकाएक जम्मा भएका नेताहरुले मतदातालाई पैसा बाँड्न लागेको आशंका गरिएको छ । स्थानीयले कराएपछि बानियाँ, मोक्तानसहितको टोली त्यहाँबाट फर्किएका हुन् । यस्तै वुधबार राति मतदातालाई प्रभावित पार्न मनहरी–७ रमौली पुगेका गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रञ्जन कालाखेतीलाई नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल निकट युवाहरुले लखेटेका थिए । मौन अवधिको समयमा पैसा बाँड्न कालाखेती निस्केको सूचना पाएपछि युवा संघमा आवद्ध युवाहरुले लखेटेका हुन् । मौन अवधिमा पनि आतंक मच्चाइरहेको गठबन्धनका नेता, उम्मेदवारहरुबारे प्रशासन थाहा नपाएजसरी बसिरहेको छ । निर्वाचन अधिकृतलाई जानकारी गराउँदा पनि कुनै कारवाही नभएकोमा स्थानीयले खेद प्रकट गरेका छन् ।

प्रतिक्रिया