मकवानपुरका बिकट गाउँका मतदान केन्द्रमा नियुत्तिपत्र र मतपेटीका बुझेर कर्मचारी खटिए

पालिका डायरी
२६ बैशाख २०७९, १९:३८

हेटौंडा । निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा आज कर्मचारीहरुको निकै भिड रहेको छ । दिनभरजसो कर्मचारीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नियुक्तपत्र बुझ्ने र र्विाचन कार्यालयमा मतपेटीका, मतपत्र लगायतका सामाग्री बुझ्नमा व्यस्त रहेका छन् । भोलीनै जिल्लाका ३ सय ६५ मतदान केन्द्रमा खटिनुपर्ने भएकाले पनि कर्मचारीहरुलाई मतपेटीका, मतपत्र, लगायतका सामाग्री बुझ्नका लागि भ्याइ नभ्याइ रहेको थियो ।

दुइ वटै कार्यालयमा कर्मचारीको दिनभरजसो भिड थियो । निर्वाचनको कार्यतालिका अनुसार भोली सबै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसक्नुपर्छ । कर्मचारीहरुले त्यहाँ पुगेर कार्यतालिका अनुसार काम गर्नुपर्ने हुन्छ । बिकट गाउँमा पुग्ने कर्मचारीहरुले आजै मतपत्र र पेटीका बुझेर मतदान केन्द्र तर्फ लागेका हुन् । धेरै कर्मचारी भोली आफ्ना मतदान केन्द्रमा खटिने तयारी गरेका छन् ।

 

निर्वाचन आयोगबाट प्राप्त मतदान सामग्री र मतदाता परिचयपत्रको प्याकेज बनाई पठाउने काम भईरहेको निर्वाचन कार्यालय बागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ अधिकारीले जानकारी दिए । बैशाख २७ गते अघि नै निर्वाचन केन्द्रमा मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामाग्री पुर्याउने ढंगले काम भईरहेको उनको भनाई छ । मकवानपुर जिल्लामा निर्वाचनको लागि ३ लाख २५ हजार मतपत्र आएको जनाईएको छ ।

मकवानपुरमा ३ सय ५६ मतदान केन्द्रमा खटिने कर्मचारीलाई मतदान केन्द्रको व्यवस्थापन, मतदानलाई व्यवस्थित गर्ने जस्ता कार्यहरुबारे तालिम दिईएको छ । मकवानपुरमा ५ सयसम्म मतदाता रहेको मतदान केन्द्रमा ७ जना निर्वाचन अधिकृत र ५ सयभन्दा बढी मतदाता रहेको मतदान केन्द्रमा निर्वाचन अधिकृतसहित ८ जना कर्मचारी टोलि खटिने छ ।

शुक्रबार हुने निर्वाचनमा मकवानपुरमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । निर्वाचन आयोगका अनुसार २९ बैसाख २०७९ सम्ममा मकवानपुरमा १८ वर्ष पूरा भएका १ लाख ४९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ४४ हजार ९ सय ५९ जना महिला र अन्यमा ६ जना मतदाता रहेका छन् ।
जिल्लाको १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् भने सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिका भित्रका रहेका छन् । हेटौंडामा १ लाख ४ हजार ४७३ जना र इन्द्रसरोबरमा १२ हजार ४ सय ७१ जना मतदाता रहेका छन् ।

यसैगरि, जिल्लाको थाहा नगरपालिकामा ३२ हजार ३ सय ७ जना,बकैया गाउँपालिकामा २९ हजार ९ सय ४३ जना,बागमती गाउँपालिकामा २२ हजार ४० जना, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय २८ जना,मनहरी गाउँपालिकामा २६ हजार ७ सय २१ जना,मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय १८ जना,राक्सिराङमा १५ हजार ८ ३२ जना,कैलाश गाउँपालिकामा १४ हजार ५ सय ८६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

 

यसैगरि,निर्वाचनको लागि जिल्लामा मतदान स्थल १ सय ६५ र मतदान केन्द्र ३५६ रहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिए । उनले मतदान स्थल र केन्द्रको लागि आजबाट निर्वाचन साम्रगी पठाउन सुरु गरेको र भोलिसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृत आफ्नो क्षेत्रमा पुग्ने बताए । जनपत्र बाट साभार ।

 

प्रतिक्रिया