मओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक नगरको समृद्धिको लागि माआबोदी केन्द्रलाई जिताउन आग्रह

पालिका डायरी
२२ बैशाख २०७९, १२:३७
मओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक नगरको समृद्धिको लागि माआबोदी केन्द्रलाई जिताउन आग्रह

हेटाैंडा / नेकपा माओवादी केन्द्र थाहा नगर कमिटिले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नगरको विकासका लागि गर्ने कार्यहरु सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । “शिक्षा, कृषि, पर्यटन र रोजगार : समृद्ध थाहा नगरको आधार” भन्ने नारालाई सार्थक गर्न गरिने विविध कार्यक्रमहरु प्रतिवद्धता पत्रमा रहेकोछ ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वार लवशेर बिष्ट मेयर पदमा निर्वाचित भएसंगै नगरको बिकासमा उल्लेख्य कार्य भएको र राष्ट्रिय स्तरमा उत्कृष्ठ नगर भएकोले आगामी निर्वाचनमा समेत माओवादी केन्द्रका उम्मेद्वारलाई बिजयी गराउन नगरकमिटि अध्यक्ष बिनोद कुमार लामाले बताउनुभयो । माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नगरको मूख्य सम्भावना रहेको क्षेत्र कृषि र पर्यटनलाई सम्मनजनक पेशाको रुपमा विकास गराई प्रबिधिमा जोडेर युवालाई आकर्षित गर्ने उल्लेख छ ।

प्रतिबद्धता पत्रमा थाहा नगरलाई देशकै नमूना शैक्षिक केन्द्रको रुपमा विकास गर्ने र स्वास्थ्य सम्वन्धि जनशक्ति उत्पादनको लागि नगरमै मेडिकल कलेजको स्थापना गर्न पहल गर्ने, महिला स्वास्थ्यकर्मीहरुलाई सम्मनजनक सुविधाको ब्यवस्था गर्नुका साथै प्रत्येक वडामा सुविधा सहितको बर्थिङ सेन्टरको स्थापना गर्ने र नगरका सम्पूर्ण परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पहल गर्ने समेत उल्लेख गरिएको छ । साथै थाहा नगरलाई शुन्य गरिबी नगर बनाउनको लागि गरिव परिवार पहिचान गरी गरिव, दलित तथा पछाडि पारिएकाहरुलाई आयआर्जन मूलक कार्यमा प्राथमिकताका साथ लगाईने र दक्ष जनशक्ति तयार गर्न सीपमुलक तालिमहरुको ब्यवस्था गर्ने उल्लेख गरिएको छ ।

कृषि क्षेत्रको विकासको लागि सिंचाईको उपयुक्त ब्यवस्था सहित कृषिजन्य उत्पादनको प्रशोधन र प्रवर्धनका लागि लघुउद्यम सञ्चालन गर्ने र खेती योग्य जमिनको संरक्षण गरी कम उत्पादन हुने क्षेत्रमा बस्तीको विकास गर्ने नीति माओवादी केन्द्र थाहा नगरको प्रतिवद्धता पत्रमा उल्लेख छ । प्रतिबद्धता पत्रमा एक घर एक धाराको नीति अन्तरगत बाँकी रहेका वडाहरुमा तीन बर्ष भित्र स्वच्छ खानेपानीको ब्यवस्था गर्ने, ५० बर्ष माथिका सबै नागरिकहरुको पूर्ण स्वास्थ्य जाँच गरी तथ्यांक राख्ने र जेष्ठ नागरिकहरुलाई अनुकुल हुनेगरी टोलटोलमा जेष्ठ नागरिक मिलन केन्द्रको स्थापना गरिने उल्लेख छ ।

शान्ति सुरक्षा नागरिकको प्रमुख अधिकार भएकोले मूख्य वजार क्षेत्रमा सिसि क्यामेरा राखिने, नगरमा रहेका धार्मिक, पुरातात्विक,ऐतिहाँसिक संरचनाहरुको संरक्षण गरी प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकास गरिने योजना प्रतिबद्धता पत्रमा रहेको छ । प्रतिबद्धता पत्रमा अघिल्लो निर्वाचनमा गरिएका प्रतिबद्धताहरु अधिकांश पुरा भएको र केही पुरा हुने अन्तिम चरणमा रहेकोले समग्र थाहा नगरको विकास र समृद्धिको लागि नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया