मकवानपुरगढीमा एमालेको प्रतिबद्धता : भूमिहीनलाई जग्गा र लालपूर्जा, मिर्गौला प्रत्यारोपण गर्न २ लाख

पालिका डायरी
२२ बैशाख २०७९
मकवानपुरगढीमा एमालेको प्रतिबद्धता : भूमिहीनलाई जग्गा र लालपूर्जा, मिर्गौला प्रत्यारोपण गर्न २ लाख

मकवानपुरगढी गाउँपालिकामा स्थानीय तहको निर्वाचन छपक्कै लागेको छ । गाउँपालिकाकै ठूलो दल नेकपा एमाले र सत्ता साझेदार पाँच दलीय गठबन्धनसहित राप्रपा मैदानमा छ ।

गाउँपालिकामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । सिंगो एउटै एमालेसँग गठबन्धनका पाँच दल मिलेर निर्वाचनमा छन् । गाउँपालिकाकै बलशाली एमालेलाई हराउन गठबन्धनका दलहरु कम्मर कसेर लागेका हुन् । तर, पनि एमालेलाई हराउन ‘फलामको चिउरा चपाए’ जस्तै भइरहेको गठबन्धनलाई मात खुवाउँदै एमाले घरदैलोमा व्यस्त छ ।

एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवारमा लगनशील र इमान्दार नेताका रुपमा परिचित बिदुर हुमागाईं र उपाध्यक्षमा सन्तु थिङ पाख्रिन छन् । एमालेले गाउँबासी सामू प्रतिबद्धता पनि जाहेर गरिसकेको छ । एमालेले प्रतिबद्धता पत्रमै गत निर्वाचनमा गाउँबासीले दिएको मतको कदर गरेको दावी गरेको छ । मकवानपुरगढीमा एमालेसँग आगामी पाँच वर्षका गाउँबासीको हितमा गर्ने कामको लामो संगालो छ ।

अध्यक्ष उम्मेदवार बिदुर हुमागाईंले निर्वाचन जिते पश्चात गाउँपालिकाभित्रका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई भू–स्वामित्व र लालपूर्जा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिकाले यसअघि नै अव्यवस्थित बासोबासीलाई लालपूर्जा दिने गरी जग्गा नापजँच सुरु गरेको थियो ।

तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगसँग लालपूर्जा वितरण गर्न सम्झौतासमेत गरिसकेको थियो । तर, गत साउनमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि उक्तल काम रोकिएको थियो ।

७ सय ४३ स्थानीय तहमार्फत भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पहिचान गरी लगत संकलन, प्रमाणीकरण र नापी गरिरहेको आयोगलाई गठबन्धन सरकारले खारेज गरेर राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । अध्यक्ष उम्मेदवार हुमागाईंले कृषि योग्य भूमिमा प्लटिङ निरुत्साहन तथा बाँझोबारी जोतखनमा प्रोत्साहन दिने जानकारी दिए ।

गाउँपालिकाबासीलाई मिर्गौला प्रत्यारोपणमा २ लाख रुपैंयासम्म अनुदान, सतप्रतिशत भत्ता वृद्धिसँगै सुत्केरीलाई प्रोत्साहन दिने योजना ल्याएको छ ।

प्रतिबद्धता बोकेर एमाले यतिबेला घरदैलोमा व्यस्त भइरहेको हो । एमालेको घरदैलोमा जनलहर छ । उम्मेदवारहरु गाउँबासीको घरघरमा पुगेर एमालेलाई जिताउनु पर्ने कारणबारे बताउँदै आइरहेका छन् ।

‘सडक संजाल, पुलपुलेसालगायतका अन्य संरचनाहरु निर्माण एवम् सामाजिक सांस्कृतिक विकासका क्षेत्रमा हामीले सम्पन्न गरेका तथा सगौरव थालनी गरेका कार्यहरुको साक्षी यहाँहरु स्वयम् हुनुहुन्छ । बितेको ५ वर्षीय कार्यकालको अनुभवले हामीलाई जनताको पक्षमा थप नयाँ काम गर्ने उत्साह एवम् रचनात्मक दिशानिर्देश समेत गरेको छ ।

प्रतिक्रिया