“मुलुकलाई भष्मासुर प्रवृत्तिबाट बचाउन गठबन्धन बनेको हो” – गौतम

पालिका डायरी
२० बैशाख २०७९
“मुलुकलाई भष्मासुर प्रवृत्तिबाट बचाउन गठबन्धन बनेको हो” - गौतम

हेटौंडा / नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले कॅाग्रेस, माओवादी लगायतको गठबन्धन चुनाव आएपछि नभई मुलुकलाई भष्मासुर प्रवृत्तिबाट बचाउन बनेको गठबन्धन भएकोले आसन्न निर्वाचनमा यसको महत्व र चर्चा बढेको बताएका छन्।
आज बकैयाको धनेश्वर पार्कमा आयोजित गॅाउपालिका स्तरीय कॅाग्रेस, माओवादी केन्द्रको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै युवा नेता गौतमले भने, “प्रतिगमनका मतियारहरुलाई हिजो सडकबाट जवाफ दियौं र पछार्यौं अब आज चुनावबाट पनि जवाफ दिएर पछार्नु पर्ने छ ।”
कार्यक्रमका विशिष्ट अतिथीद्वय अध्यक्षका उम्मेद्वार धर्मराज लामिछाने र उपाध्यक्षका उम्मेद्वार भक्तबहादुर खत्रीले दुवै दलका नेता, कार्यकर्ता गठबन्धनको भावना अनुरुप एकताबद्ध भएर प्रस्तुत हुन आग्रह गरेका थिए।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की प्रदेश कमिटी सदस्य लक्ष्मी माझीले गठबन्धनको जीत सुनिश्चत रहेको र कति अन्तरले जित्ने भन्ने हिसाब मात्र रहेको बताईन।

त्यसैगरी नेपाली कॅाग्रेसको जिल्ला सह-सचिव ताराराज बजगॅाईले बकैयामा गठबन्धनले क्लिनस्विप जित हासिल गर्ने दावि गरे।
त्यस्तै नेपाली कॅाग्रेसका क्षेत्रीय सभापति एवं गॅाउपालिका अध्यक्ष दामोदर खनालले गठबन्धनको भावना भन्दा दॅाया बॅाया गर्ने छुट कसैलाई नरहेको बताए।

त्यसैगरी माओवादी केन्द्रका जिल्ला सदस्य लोकनाथ गौतमले गठबन्धनको महत्व जनताले पनि बुझेको दावी गरे भने नेपाली कॅाग्रेसका क्षेत्रीय सचिव भूमिनन्द गौतमले मतदाता शिक्षामा जोड दिन नेता, कार्यकर्तालाई आग्रह गरे। भेलामा नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रिन, जीवन गोले, जिल्ला नेताहरु परशुराम गौतम, रामहरी गौतम, अमर स्यांतान त्यसैगरी नेपाली कॅाग्रेसका नेताहरु रामशरण माझी, भमिनन्द गौतम, सेतेमान बल लगायतको उपस्थिति रहेको थियो।
भेलाको अध्यक्षता नेपाली कॅाग्रेसका बकैया सभापति दिलबहादुर घिसिंगले गरेका थिए।

गठबन्धनको तर्फबाट बकैयाको अध्यक्षमा नेपाली कॅाग्रेसका जिल्ला उपसभापति धर्मराज लामिछाने र उपाध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य एवं बकैया गॅाउपार्टी अध्यक्ष भक्तबहादुर खत्री उम्मेद्वार भएका छन्। बकैयाको १२ वटा वडा मध्ये वडा नं. १० र १२ गठबन्धन बनाए पनि बॅाकीमा भने स्वस्थ प्रतिष्पर्धा रहने नेकपा (माओवादी केन्द्र)का गॅाउ कमिटी सचिव विमल नेपालले बताए।

प्रतिक्रिया