कांग्रेसले महिलाहरुको अधिकारलाई कुन्ठित गर्यो- मेयर उम्मेदवार पौडेल

पालिका डायरी
१९ बैशाख २०७९, २०:५६

हेटौंडा/ नेपाली कांग्रेसले मकवानपुर जिल्लामा महिलाहरुको अधिकारलाई कुन्ठित गर्ने काम गरेको नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार अनन्त पौडेलले आरोप लगाउनुभएको छ । हेटौंडा-३ मा भएको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संबिधानले महिलाहरुलाई दिएको राजनीति गर्ने अधिकार गठबन्धनको नाममा कांग्रेसले खोसेको भनाई ब्यक्त गर्नुभयो ।

संबिधानले पालिकाको प्रमुख/उपप्रमुखमा १ जना महिला अनिवार्य गरेको अवस्थामा गठबन्धन गरि मकवानपुर जिल्लाभरमा १ पालिकामा उपप्रमुख र बकैयाको २ वडामा महिला वडा अध्यक्ष बाहेक अन्त कतैपनि महिलालाई प्रमुख पद नदिएको जानकारी दिनुभयो । महिलालाई अवसर नै नदिने पार्टीले महिलाको हितमा काम गर्ला भनेर सोच्न पनि नसकिने बताउनुहुँदै यस्ता गठबन्धनको नाममा आउने पार्टीलाई भोट दिनुअघि सबैले सोच्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले यस्ता पार्टीहरु भोट माग्न घरदैलोमा आउँदा महिलाको अवसर किन खोसेको भनेर प्रश्न गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले आफू मेयर भए पछिको पहिलो बैठकमा बसामाडीमा पुल र मन्दिर निर्माणका लागि निर्णय गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले हेटौंडा-३ मा रहेको उद्योग, क्रसर लगायतका ब्यवसायहरुको पनि उचित ब्यवस्थापन गर्ने तर्फ उपमहानगरपालिका अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया