आहा ! हेटौंडा भन्ने बनाउँछौं : अनन्त पौडेल
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेद्वार अनन्त पौडेलले प्रदेशको राजधानी हेटौंडालाई सबैले आहा ! भन्ने गरी विकास गर्ने बताउनुभएको छ ।
नेकपा एमाले ७ नम्बर वडा कमिटिले आदर्श टोलमा स्थापना गरेको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका उम्मेद्वार पौडेलले बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडालाई प्रदेशको राजधानी बनाउन सफल भएको दाबी गर्दै फेरिपनि एमालेकै नेतृत्वमा हेटौडाको समग्र क्षेत्रको विकास गरी जिल्लाबासीले नै आहा !
हेटौंडा भन्ने बनाउने बताउनुभयो ।
प्रदेशको राजधानी भैकन अझै हेटौंडामा राजधानीको लागि आवश्यक पूर्वाधार, फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाईटको व्यवस्था, खेलकुद, खुल्ला स्थान लगाएतको क्षेत्रमा काम गर्न बाँकी भएकोले बैशाख ३० गतेको निर्वाचनमा एमालेका सबै उम्मेद्वारलाई बिजयी गराउन उहाँले मतदाताहरुमा आग्रह गर्नुभयो । एमालेले लिएको सुख नेपाली समृद्ध नेपालको नारालाई लक्ष्य बनाई अघि बढेको भन्दै उहाँले हेटौंडाको समग्र क्षेत्रलाई विकास गरी साँच्चै नै हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी उपमेयर पदका उम्मेद्वार सुमित्रा काफ्लेले हेटौंडा उपमहानगरपालिका लगाएत सबै वडाहरुमा एमालेको आफ्नो बर्चश्व कायम राख्न जरुरी रहेको बताउनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनपछि एमालेले जितेको सबै वडाहरुमा अन्य पार्टीको तुलनामा अत्याधिक विकासका काम भएको दावी गर्दै उहाँले विकास र एमाले एकअर्कामा पुरक रहेको समेत बताउनुभयो ।
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ वडा अध्यक्षपदका उम्मेद्वार राजन थापाले आफ्नो नेतृत्वमा गएको पाँच वर्षमा वडामा जनताले महश्ुस गर्नेगरी विकासका काम भएको बताउनुभयो । यस्तै अघिल्लो कार्यकालमा कर्राखोलामा पक्की पुल निर्माणको लागि आवश्यक स्थान र बजेट पहिचान भएकोले आगामी कार्यकालमा पक्की पुल निर्माण गरिने भन्दै सबै मतदाताहरुमा सातवटै सुर्यचिन्हमा मतदान गर्न अपिल समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा लगाएतका विभिन्न् पार्टी परित्याग गरि राजेन्द्र सापकोटा, दिपा चौलागाई, सीता सापकोटा, एकनाथ सापकोटा, दिपा चौलागाई, सोमप्रसाद सापकोटा, सीता उप्रेती, जयनारायण दाहाल, रामजी उप्रेती, विक्रम लामा, मनिष उप्रेती सहित २५ जना एमालेमा प्रवेश गर्नुभएको छ । नवप्रवेशीहरुलाई मेयर, उपमेयरका उम्मेद्वार, वडा अध्यक्षका उम्मेद्वार लगाएतले टिका र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
नेकपा एमाले ७ नम्बर वडा कमिटिका अध्यक्ष कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुव चौलागाई, जिल्ला सदस्य सुबोध रिमाल, वडा
सदस्यका उम्मेद्वारहरु देवराज रिमाल, नरबहादुर भ्लोन, तुलसा अधिकारी, सपना बि.क लगाएत पार्टीका नेता कार्यकर्ता लगाएत वडाबासीको उपस्थिती रहेको थियो ।