मकवानपुरमा ४९ थान हातहतियार मध्ये ४ जनाले मात्र हतियार बुझाए
हेटौंडा / जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य रुपमा बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका छन् ।
यहि बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेकोमा ४ जनाले मात्र हतियार बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले ४ जनाले मात्र प्रहरी कार्यलयमा हतियार बुझाएको बताए ।
जिल्लामा दर्ता गराएका ४९ थान हातहतियार मध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिईने बताए । उनले जिल्लामा ४९ थान हातहतियार दर्ता भएकोमा उक्त हतियारहरु ३८ जना व्यक्ति र संस्थाहरुको नाममा रहेको बताए ।