शिक्षण पेशा त्यागेको पाँच बर्षपछि टिकट

पालिका डायरी
३० चैत्र २०७८, २०:५८
शिक्षण पेशा त्यागिएको पाँच बर्षपछि टिकट

सुनिता बिष्ट

हेटाैंडा /  राजनीति भनेको एकप्रकारको नशा हो, भन्ने धेरै प्रमाणहरु हाम्रा समाजमा छरपस्ट छन् । राजनीतिकै लागि आफ्ना परिवार, समाज र आफ्नो आधा जीवन बिताइसकेको पेशा समेत परिवर्तन गर्न पछि नहट्ने मानिसहरुको जमात बढ्न थालेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नको लागि सरकारी जागिर खाएकाले नपाइने आचार संहिता लागु भएपछि आफ्ना् पेशा गरेर राजनीतिबाट टाढा हुने भन्दा पेशा नै त्यागेर राजनीतिमा लाग्ने मानिसको कमि छैन । यसको एक बलियो उदाहरण हुन्, देवकृष्ण पुडासैनी ।

शिक्षण त्यागेर राजनीति
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका १ का देवकृष्ण पुडासैनी अहिले ६० बर्षका भए । ०१९ सालमा जन्मिएका पुडासैनी १६÷१७ बर्षको उमेरदेखि नै नेकपा एमालेमा सक्रिय भूमिकामा लागिरहे । ३४÷३५ सालदेखि अहिले सम्मको बीचमा एमालेबाट विभिन्न संगठनमा रहेर समाजसेवामा लागिरहे । तीन दशकभन्दा लामो समय शिक्षण पेशामा रहेका पुडासैनी पटक÷पटक प्राध्यापकको रुपमा पनि शिक्षण पेशालाई बलियो बनाउने काममा सक्रिय थिए ।

लामो समयदेखि पार्टीमा लागेकै कारण शिक्षण पेशामा रहेर भन्दा पनि पालिकाको नेतृत्व तहमा रहेर विकास गर्ने भिजन बोकेर २०७४ सालको स्थानीय तहको निर्वाचनको लागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा आफ्नो उम्मेदवारी दर्ता गराउने होडमा लागेर उनले पढाउँदै आएको पञ्चकन्या माध्यामिक विद्यायलयबाट राजिनामा दिएर राजनीतिमा होमिए । त्यो समयमा उनी उक्त विद्यालयमा प्राध्यापक रहेता पनि शिक्षण छोडेर राजनीतमा होमिए । सबैले दिएको उपनाम ‘हेडसर’ अब उनको जीवनमा यो कहिल्यै आउने नै छैन ।

पेशा टुट्यो, टिकट जुटेन

स्थानीय तहको निर्वाचनमा सामेल हुनैको लागि गाउँकमिटिले पुडासैनी र अर्का उम्मेदवार जीवन लामाको नाम जिल्ला कमिटिमा सिफारिस त गर्यो । तर जिल्ला कमिटिको निर्णयले लामाले गाउँपालिकाको अध्यक्ष पदको लागि टिकट पाए । पुडासैनी पाँच बर्षको लागि व्याक भएर बस्न बाध्य भए ।

एकातिर आफूले आधा जीवन बिताएको शिक्षण पेशा गुमाउनुको पीडा, अर्कोतिर पार्टीले टिकट नदिएर पाँच बर्ष पालिकामा विकास गर्ने सपना दुवै रित्तियो । तर पनि हार मानेनन् । आफ्नो पार्टीका उम्मेदवार जीवन लामालाई साथ दिएर भोट माग्दै गाउँगाउँ पुगे । टोलटोल पुगे । आफ्नो पार्टीको हितको लागि भन्दै आफ्नो हारलाई प्रवाह नगरी निर्वाचनमा होमिए । अन्ततः उनले नजिते पनि उनले सर्मथन गरेको पार्टीले भने स्थानीय सरकार आफ्नै पार्टीको पाउन सफल भयो ।

पाँच बर्षपछि टिकट
पाँच बर्षसम्म आफ्नो पेशा छोडेर समाजसेवामा लागेका पुडासैनीले आसन्न निर्वाचनको लागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारी पाएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमै अध्यक्ष बन्ने सपनाले प्राध्यापकबाट राजिनामा दिएका पुडासैनीले यो पाँच बर्षको अवधिमा धेरै कुरा सिकेको बताउँछन् । टिकट पाइँदैन भन्ने निश्चित नभएकै कारण पेशा त्यागेको बताउने उनी राजनीतिबाटै समाज परिवर्तन गर्छु भन्ने अठोट लिएर यस क्षेत्रमा आएको बताउँछन् ।

“लामो समय शिक्षक भएर बिताएँ । विद्यार्थीको उज्वल भविष्य बनाउनको लागि आफ्नो कहिल्यै प्रवाह गरिनँ । सयौं विद्यार्थीको भविष्यको लागि मैले यो योगदान दिए सबल विद्यार्थी उत्पादन गर्न सकिरहेको छु भने गाउँपालिका कै नेतृत्वमा रहेर सबै नागरिकको हितमा किन काम गर्न नसकिएला र, भनेर शिक्षण छोडेर राजनीतिमा लागेको हुँ ।” पुडासैनीले भने ।

गठबन्धनको छैन पीर
पुडासैनीलाई आसन्न निर्वाचनमा चुनौती नै चुनौतीको चाङ लागेको छ । गठबन्धनसँग विजयी हुन सजिलो कहाँ छ र । अघिल्लो निर्वाचनबाटै धोका पाएका पुडासैनीले टिकट त पाएका छन् । तर त्यसको सदुपयोग होला नहोला अन्यौलता कायमै छ । पाँच बर्षको पर्खाइपछिको पाएको टिकटले उनमा एकप्रकारको उत्साह त अवश्य पनि दिएको छ । त्यसोत चुनाव जित्नको लागि अघिल्लो निर्वाचनमा भन्दा थप चुनौतीहरु खडा भएको पुडासैनी बताउँछन् । तर पनि राजनीतिको लागि आफूले गरेको त्यागले एकदिन अवश्य सफलता पाउनेमा पुडासैनी बिश्वस्त देखिन्छन् ।
‘गठबन्धन हुँदैमा मैलै हारौंला भन्ने चिन्ता छैन ।’ उनले भने ः ‘निर्वाचन भनेकै हारजितको लागि हुने प्रक्रिया हो । राजनीतिकै लागि मैले आफ्नो ३ दशको पेशा त्यागेको छु । मेरो राजनीति केका लागि भन्ने मेरा विद्यार्थी, अभिभावक तथा सिंगो गाउँपालिकाबासीले बुझ्नु भएको छ । त्यसैले मैले पाँच दलको गठबन्धनलाई पनि पछारेर निर्वाचन जित्छु भन्नेमा पुर्ण रुपमा ढुक्क छु ।’
आफ्नो स्वार्थको लागि मात्रै नभएर आफ्नो ठाउँको विकासको लागि पनि आफ्ना विद्यार्थीहरुबाट समेत हौसला पाएका कारण ०७४ सालको स्थानीय तहको निर्वाचनमा होमिने निर्णय गरेको उनी बताउँछन् ।

रोकिन्न राजनीति
अघिल्लो स्थानीय तहको निर्वाचनमै धोका पाइसकेका पुडासैनीले यो पटक पार्टीको साथ त पाए । तर अब निर्वाचनमा होमिन पाएको समयमा हार व्यहोर्नु परे तँपाईको बाटो कता मोडिन्छ ? शिक्षण पेशाबाट सन्यास लिएर राजनीतिमा होमिए जस्तै राजनीतिबाट पनि सन्यास लिने सोच त छैन, भन्ने हाम्रो प्रश्नमा पुडासैनी अब हारे पनि जिते पनि निरन्तर राजनीति र समाजसेवामै लागिरहने बताए ।

जित्नको लागि मात्रै निर्वाचन नहुने बताउँदै उनले भने, ‘शिक्षण छोडेजस्तो राजनीति छोडिन्न । हारजित जे भएपनि समाजसेवामै लागिरहने छु । पेशा त्यागेको छु । अब त्यो पेशा जसरी राजनीतिमा लागेर अरु कुरा त्याग्छु भन्ने सोच बनाएको छैन । र बनाउने पनि छैन ।’

 

 

 

 

 

 

 

 

प्रतिक्रिया