एमाले पक्षबाट हेटौंडाको वडाध्यक्षमा ८ वटा पुरानै मुहार, बाँकी वडामा कसको नाम ?

पालिका डायरी
२६ चैत्र २०७८, २१:३२
हेटौंडा

हेटौंडा / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाका नेकपा एमलेले छनौट कार्य सम्पन्न गरेको छ । सर्वसम्मत हुन नसकेको वडामा वडा कमिटीले वडाध्यक्षमा तीनजना सम्मको नाम सिफारिस गरेको छ । केही दिनभित्रै जिल्लाको १ सय २ वटै वडामा नेकपा एमालेको वडाका उम्मेदवार टुङ्गाउने तयारीमा रहेको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । वडा तहको उम्मेदवारहरु पहिलो चरणमा छनौट गरे पनि पालिकाको उम्मेदवारहरु छनौट प्रक्रिया सुरु हुने श्रेष्ठ बताउँछन् ।

नेकपा एमालेले हाल वडाअध्यक्ष मै रहेका ८ जना वडाध्यक्षहरुलाई पुनः वडाध्यक्षमा नै सिफारिस गरेको छ । बाँकी ११ वटा वडाहरुमा नयाँ व्यक्तिहरुलाई पालो दिने बताइएको छ । सिफारिसमा परेकाहरुलाई अन्तिम पटक जिल्ला कमिटीले नाम टुङ्गाउने छ ।

वडा नम्बर १
हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा सर्वसम्मत उम्मेदवार छनौट भएको छन् । १ नम्बर वडामा पुराना नेता उत्तम प्रसाद पौडेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा कमिटीको अध्यक्ष समेत रहेका पौडेलको नेतृत्वमा वडा सदस्यमा खुलातर्फ सोनामसिं स्याङ्तान र रामकृष्ण अधिकारी, महिला सदस्यमा मनु दाहाल र दलित महिला सदस्यमा ईश्वरी रसाईलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा सदस्यमा ईश्वरी रसाईली र खुला सदस्यमा सोनामसिंह स्याङ्तान २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्यहरु हुन् ।

वडा नम्बर २
यस्तै वडा नम्बर २ बाट बर्तमान वडाध्यक्ष हरि राउत पुनः उम्मेद्वार बन्नु भएको छ । वडा कमिटिको आज बसेको बैठकले राउतलाई सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार बनाएको हो । वडा नम्बर २ को दलित महिला सदस्यमा सुमित्रा सुनार कामीलाई सर्वसम्मत गर्दा बाँकी रहेको खुल्ला वडा सदस्य र महिला सदस्यहरुमा भने ८ जनालाई सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा रामकृष्ण तिमल्सिना, महेश्वरमान श्रेष्ठ, रेनु गुरुङ, शिशिर सुवेदी, जितेन्द्र श्रेष्ठ, चन्द्रावति पनेरु, सिता तिमल््िसना र अञ्जु अधिकारी रहेका छन् ।

वडा नम्बर ३
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा अध्यक्षका लागि ३ जनाको नाम सिफारिस गरिएको छ । नेकपा एमालेका रामकुमार पुडासैनी, परेशमान विडारी र कल्पना लामाको नाम सिफारिस गरिएको हो । रामकुमार पुडासैनी वर्तमान अध्यक्ष समेत हुन् भने परेशमान विडारी र कल््पना लामा नयाँ अनुहार हुन् । वडामा सदस्य खुलातर्फ चण्डिका न्यौपाने र हितबहादुर पुलामी, दलित महिलातर्फ राधा कुमारी बिश्वकर्मा, महिलातर्फ बिमला बर्तौलााको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

वडा नम्बर ४
यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेकपा एमालेले नवीन सिग्देललाई सिफारिस गर्ने निर्णय गरेको छ । एमाले ४ नम्बर वडा कमिटीको बैठकले सर्वसम्मत वडा अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले वडा सदस्यमा जनरल श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुदेवी देउलालाई सिफारिस गरेको छ । वडा अध्यक्षमा सिग्देल र सदस्यमा जनरल श्रेष्ठ दोस्रो कार्यकालका लागि उम्मेदवार हुने भएको छ भने पाण्डे, त्रिपाठी र देउला नयाँ अनुहार हुन् ।

वडा नम्बर ५
यस्तै एमालेले हेटौंडा–५ को वडा अध्यक्षमा सुशील घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । वडा कमिटीले वडा अध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । ५ नम्बर वडा कमिटीले वडा सदस्यमा ज्ञानु थापा, राम बहादुर राई, भगवती बिक र रञ्जीता सिलवालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ज्ञानु थापा र भगवती बिक अहिले पनि वडा सदस्य हन् भने रामबहादुर राई र रञ्जीता सिलवाल नयाँ अनुहार हो ।

वडा नम्बर ६
त्यस्तै एमालको तर्फबाट हेटौंडा –६ को वडा अध्यक्षमा विश्वराज राई सर्वसम्मत सिफारिस भएका छन् । वडा कमिटीले राईको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

वडा नम्बर ७
यस्तै एमाले ७ नम्बर वडा कमिटीले वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको बैठकले थापालाई सवसम्मत उमेदवार बनाउने निर्णय गरेको हो । यस्तै सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना बिक र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत चयन भएका छन् ।

वडा नम्बर ८
त्यस्तै हेटौंडा ८ को अध्यक्षमा एमालेको तर्फबाट तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेहरुमा युवा नेता बोलबहादुर कार्की, यसोधा उप्रेती र रमेशकुमार पौडेल रहेका छन् । वडा सदस्य खुल्लामा गोपाल श्रेष्ठ र राजु मुक्तान सर्वसम्मत हुँदा महिला सदस्यमा मञ्जु भुर्तेल, सुशिला मल्ल र सुमित्रा पाण्डे सिफारिस भएका हुन् । दलित महिला सदस्यमा कल्पना विक र ममता देउला सिफारिस भएका छन् ।

वडा नम्बर ९
त्यस्तै एमालले वडा नम्बर ९ मा युवा नेता नरेन्द्र भण्डारी सहित ३ जनाको नाम वडा अध्यक्षमा सिफारिस गरेको छ । पार्टी वडा कमिटीको बैठकले नरेन्द्र भण्डारीसँगै हालका वडा अध्यक्ष लक्ष्मण भण्डारी र गोमा शाहको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यस्तै २ जना खुला सदस्यमा ६ जनाको नाम सिफारिस गरिएको छ । खुला सदस्यमा मदन न्यौपाने, यदुवंश खतिवडा, नारायण खतिवडा, रामकुमार श्रेष्ठ, टिका प्रसाद भट्टराई र सिताराम पौडेलको नाम सिफारिस गर्ने निर्णय भएको छ । महिला सदस्यमा मीना अर्याल र दलित महिलामा लक्ष्मी नेपालीको नाम सिफारिस गरिएको छ ।

वडा नम्बर १०
हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बाट नेकपा एमालेले चार जनालाई वडाध्यक्षमा सिफासिर गरेको छ । बैठकले नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य फुर्वादोर्जे लामा सहित वर्तमान वडाध्यक्ष कितापसिंह लामा, साधना श्रेष्ठ तथा धर्म बस्नेतलाई वडाध्यक्षको लागि सिफारिस गरेको हो । बैठबले वडा सदस्य खुल्ला तर्फ इश्वर मैनाली र विमला लामा, महिला सदस्यमा रिताकुमारी लामा तथा दलित महिला सदस्यमा गोमा सुनारलाई चयन गरेको हो ।

वडा नम्बर ११
त्यस्तै एमालेले हेटौंडा–११ को वडा अध्यक्षमा तीनजनाको नाम सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षमा जुना दाहाल, रामचन्द्र न्यौपाने र दीपक सिवाकोटीको नाम सिफारिस गरेको छ । यस्तै वडाबाट सदस्यमा खुलातर्फ अक्कल बहादुर रोक्का ९तीर्थ० र सूर्यबहादुर खुलाल, महिला सदस्यमा गोपिनी सापकोटा र दलित महिला सदस्यमा गीता सुनारको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मत भएको छ ।

वडा नम्बर १२
त्यस्तै एमालेले हेटौंडा–१२ को अध्यक्षमा राजेश नगरकोटीलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले नगरकोटीलाई सर्वसम्मत अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो । खुला सदस्यतर्फ ज्ञानबहादुर श्रेष्ठ र महेश भट्टराई, महिला सदस्यतर्फ रुक्मिणी स्याङ्तान र दलित महिलातर्फ गीता परियारलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ ।

वडा नम्बर १३
त्यस्तै हेटौंडा– १३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा पेम्बा लामा सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा आशिष थापा, बुद्द गोले, बिष्णुमाया परियार र बिष्णुमाया थिङ सर्बसम्मत सिफारिस भएका छन् ।

वडा नम्बर १४
त्यस्तै वडा नम्बर १४ मा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष सिफारिस भएको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य दीपक खड्कालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

वडा नम्बर १५
त्यस्तै हेटौंडा–१५ को वडा अध्यक्षमा सुनिल मोक्तानलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरु पनि सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । वडा कमिटीले वडा सदस्यमा महिलातर्फ पातलीमाया गोङ्बा, दलि महिलातर्फ मिनु विश्वकर्मा, खुलातर्फ राजेन्द्र तितुङ र सिंह बहादुर लोलाई उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

वडा नम्बर १६
त्यस्तै एमालले हेटौँडा–१६ बाट बसन्तप्रसाद लामिछानेलाई वडाध्यक्ष बनाउन सिफारिस गरेको छ । वडा कमिटीको बैठकले लामिछानेलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । वडा सदस्यमा खुलातर्फ राजेन्द्र गरन्जा र कृष्ण बहादुर रुम्बा, दलित महिलातर्फ पवित्रा बिश्वकर्मा र महिलातर्फ अस्मिता भुषाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वडा नम्बर १७
हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडामा अध्यक्षको लागि दुई जनाको नाम सिफारिसमा परेको छ । वडा कमिटीको वैठकले भैरवबहादुर राई र लक्ष्मण खुलालको नाम सिफारिस गरेको छ । राई वडा नम्बर १७ का वर्तमान अध्यक्ष हुन् ।

वडा नम्बर १८
त्यस्तै एमालेले हेटौँडा–१८ मा अनिलकुमार बानीयाँलाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ । वडा कमिटिको बैठकले बर्तमान वडाध्यक्ष समेत रहेका बानीयाँलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । सदस्यहरुमा तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिला सदस्यमा कल्पना कुईकेल र दलित महिला सदस्यमा पुजा मग्रातीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

वडा नम्बर १९
त्यस्तै हेटौंडा–१९ मा अध्यक्षका लागि तीनजना आकांक्षीको नाम सिफारिस गरिएको छ । वडा कमिटीको बैठकबाट अध्यक्षका आकांक्षी नरनाथ सुवेदी, रत्नबहादुर ब्लोन र इन्दिरा तामाङको नाम सिफारिस गर्ने निर्णय भएको छ । सदस्यमा दलित महिलामा शान्ति बिक र महिलामा रमा गोले सर्वसम्मत सिफारिस भएका छन् । २ जना खुला सदस्यमा कृष्णमान स्याङ्तान, प्रताप थिङ र राजकुमार बज्युको नाम सिफारिस गरिएको छ । अध्यक्षका आकांक्षी नरनाथ सुवेदी वर्तमान वडा अध्यक्ष हुन् भने इन्दिरा तामाङ वडा सदस्य हुन् । सदस्यका उम्मेदवार शान्ति बिक पनि वर्तमान वडा सदस्य रहेकी छन् ।

 

प्रतिक्रिया