बागतीको जनता माविका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै छात्राहरूद्वारा विद्यालय तोडफोड र तालाबन्दी

पालिका डायरी
२२ चैत्र २०७८, २०:५६
मकवानपुरको जनता माविका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै छात्राहरूद्वारा विद्यालय तोडफोड र तालाबन्दी

मकवानपुरको पूर्वी क्षेत्रस्थित वागती गाउँपालिका–८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको छ ।

विद्यालयका कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले विद्यालयका तीन जना शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै विरोध जनाएका हुन् । विद्यालयका शिक्षक रुद्र विक, हेम विक र लोक विकले छात्राहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरुले चैतको १४ गते नै विद्यालयमा निवेदन दिएका थिए ।

छात्राहरूको निवेदनमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको प्रधानाध्यापक बसन्तराज खरेलले जानकारी दिए । ‘स्थानीय राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरु र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौं । छलफलको क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरुले तोडफोड गर्दै तालाबन्दी गरेका छन्’ उनले भने ।

घटनापछि विद्यालयमा सुरक्षा दिइरहेको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले बताए । उनका अनुसार शिक्षकहरु विदामा रहेका कारण आरोपितहरूलाई पक्राउ गर्न सकिएको छैन ।

‘विद्यालयमा छलफल भएका कारण शिक्षकहरु विदामा बसेको हुनसक्छ । हामी अध्ययन गर्दैछौं,’ उनले भने । मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले विद्यालयमा तोडफोड भएको खबर आएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी परिचालन गरिएको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको समेत बताए । ‘घटनास्थलमा प्रहरी छ । यस विषयमा सोधपुछ भइरहेको छ । शिक्षक वा विद्यार्थी कोही पनि नियन्त्रणमा लिएका छैनौं’, प्रहरी प्रमुख गुरुङका अनुसार पटकपटक दुर्व्यवहार गरेको आरोप छात्राहरुले लगाएका छन् । ‘२र३ दिन अगाडिको घटना रहेछ । जाहेरी आएपछि धेरै विषयमा जानकारी हुनेछ’, उनले भने ।

प्रतिक्रिया