हेटौंडा ९ मा मखमलको जुत्ता बनाउने तालिम सुरु

पालिका डायरी
२१ चैत्र २०७८, १२:२६

हेटौंडा/ महिला जागरण समूह हेटौंडा-९ को आयोजनामा मखमलको जुत्ता बनाउने सम्बन्धी ७ दिने ताइल सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सोमबारबाट तालिमको सुरुवात भएको हो ।

तालिमको हेटौंडा उपमहानगरपालिका हेटौंडा-९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो । महिलाहरुका लागि वडा कार्यालय तथा विभिन्न संघ संस्थाहरुले सीप विकास तालिम आयोजना गरेपनि ब्यवहारमा लागू गर्न नसक्दा सिकेका कुराहरु तालिममै मात्र सिमित भएको भन्दै वडा अध्यक्ष भण्डारीले चिन्ता ब्यक्त गर्नुभयो । उहाँले तालिमसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउन के कसरी काम गर्न सकिन्छ भनेर योजना तयार गर्नुपर्ने र तालिम सञ्चालन गर्ने संघसंस्थाहरुले पनि तालिमसँगै रोजगारी प्रदान गर्न पहल गर्नुपर्ने बताउनुभयो । महिलाहरुलाई स्वरोजगार तथा सक्षम बनाउनका लागि तालिम प्रदान गरिएको महिला जागरण समूह हेटौंडा-९ कि सचिव मेनुका पराजुलीले जानकारी दिनुभयो । तालिमबाट हेटौंडा-९ का ११ जना महिलाहरु लाभान्वित हुने पनि उहाँले बताउनुभयो । तालिमको लागि हेटौंडा उपमहानगरपालिकाले ५० हजार रुपैयाँ प्रदान गर्ने जनाइएको छ । तालिम चैत २७ गतेसम्म आयोजना हुनेछ ।

महिला जागरण समूह हेटौंडा-९ कि अध्यक्ष लक्ष्मी धमलाको सभाध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा हेटौंडा-९ कि वडा सदस्य लक्ष्मी नेपाली, टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा-९ का अध्यक्ष यदुवंश खतिवडा लगायतकाको आतिथ्यता रहेको थियो । हेटौंडाको १९ वटै वडामा रहेको वडा स्तरीय महिला जागरण समुहले आ-आफ्नो वडाका महिलाहरुको नेतृत्व विकास र सीप विकास तालिम तथा कार्यक्रम हरु आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया