जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै, आजै मुद्दा दर्ता गर्ने

पालिका डायरी
१५ चैत्र २०७८, १३:५८
जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालत जाँदै, आजै मुद्दा दर्ता गर्ने

नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ ।

पलका पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौँ । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौँ’, उनले भने ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानूनी व्यवस्थाअनुसार पुनरावेदन दिँदैछौँ,ु उनले भने ।

घटना भएको लामो समयपछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरबाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानूनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशिलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखामा छाडिएको छ ।

७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

गायिकालाई सुटिङको क्रममा चिनजान भएपछि विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो ।

अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौँडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मासर्मपण गरेका थिए ।

प्रतिक्रिया