मकवानपुरमा ९१ वडामा कृषि गणना हुँदै

पालिका डायरी
१४ चैत्र २०७८, १८:५६
मकवानपुरमा ९१ वडामा कृषि गणना हुँदै

आउँदो बैशाख ६ गतेबाट देशको ७७ वटै जिल्लाको ७ सय ५३ वटा स्थानीय तहमा कृषि गणनाको तथ्याङ्क संकलन हुने भएको छ ।

बैशाख ६ गते देखि जेठ १९ गतेसम्म अर्थात ४५ दिन कृषि गणना हुने भएको छ । कृषि गणनामा ७ सय ५३ स्थानीय तहका ५ हजार ९ सय ३४ वडाका १३ हजार ५ सय ७८ गणना क्षेत्रहरु बाट करिब २५ लाख कृषक परिवारमा पुगेर ३ लाख ५० हजार कृषक परिवार को छनौट गरी गणना हुँदैछ ।

यसै अनुसार सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा जिल्ला स्तरीय कृषि गणना सचेतना गोष्ठि कार्यक्रम गर्दै प्रदेश कृषिगणना कार्यालयका कार्यालय अधिकृत राजेश दासले आउँदो बैशाख ६ गतेबाट जेठ १९ गतेसम्म देशभर वैज्ञानिक विधिले छनोट गरिएको वडामा कृषक परिवारसंग व्यक्तिगत अन्तर्वाताबाट कृषिसम्बन्धी विस्तृत विवरण संकलन गरिने बताए ।

राष्ट्रिय कृषिगणना २०७८ का लागी बागमती प्रदेशले प्रदेश कृषिगणना कार्यालयको स्थापना गरिसकेको बताउँदै चैत १५ गतेबाट २१ गतेसम्म प्रशिक्षकको तालिम हुने बताए । उनले देशभर कृषिगणना अधिकृत ७७ जना, सुपरिवेक्षक १५ सय जना र गणक ६ हजार रहेकोमा मकवानपुरमा कृषिगणना अधिकृत १ जना, सुपरिवेक्षक १८ जना र गणक ७० जना रहेका छन् । उनले गणकले कृषकहरुले चलन गरेको जग्गाको अवस्था तथा पशुपन्छीपालन,अन्य खेती वातावरण लगाएत विविध विषयसम्बन्धी विस्तृत विवरणहरु संकलन गर्ने बताए ।

उनले कृषि गणनाको लागि मकवानपुरको १ सय २ वडा मध्ये ९१ वटा वडा नमुना परेको र गणना क्षेत्र १ सय ८५ रहने जानकारी दिए । जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । गोष्ठिमा जिल्लाको विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कृषि गणनाको इतिहास नेपालमा वि.सं. २०१८ (सन् १९६१) देखि कृषिगणना गर्ने काम शुरु भएको हो । प्रत्येक १०÷१० वर्षको अन्तरमा कृषिगणना सञ्चालन हुँदै आएको छ । २०७८ सालको यो कृषिगणनाले नेपालको इतिहासमा ६० वर्षको अवधि पूरा गर्नेछ । वि.सं. २०७८ को राष्ट्रिय कृषिगणना नेपालको सातौं र वि.सं. २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो कृषिगणना हो । यसले ७ सय ५३ वटै स्थानीय तहसम्मका कृषि सम्बन्धी तथ्याङ्कहरु उपलब्ध गराउने छ । कृषिगणना आर्थिक स्रोत साधन र जनशक्ति परिचालनको हिसाबले केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने जनगणना पछिको राष्ट्रव्यापी एक महाअभियान हो ।

प्रतिक्रिया