मकवानपुरमा म्यादी प्रहरी : आवश्यक भन्दा तेब्बर आवेदन

पालिका डायरी
१३ चैत्र २०७८, १६:३८
मकवानपुरमा म्यादी प्रहरी : आवश्यक भन्दा तेब्बर आवेदन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरी भर्ना, छनौट तथा तालिमको प्रक्रियामा रहेको छ ।

यसैअनुरुप मकवानपुर जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनको लागि मागभन्दा पनि झण्डै तेब्बर बढी आवेदन परेको छ । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले १ हजार ३ सय २२ जना म्यादी प्रहरी माग गरेकोमा ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका छन् ।

गत आइतबारदेखि शुक्रबारसम्ममा आवेदन दिन आव्हान गरिएकोमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले चैत १३ गते सम्पर्क मिति तय गरेको छ भने चैत १५ गते शारीरिक तथा स्वास्थ्य परीक्षणको कार्य गरिनेछ ।

चैत २२ गते नतीजा सार्वजनिक गरेर चैत २८ गतेबाट तालिम सुरु हुनेछ । ४० दिन काम गर्ने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोशाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचनस्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।

 

प्रतिक्रिया